फराकिलो जितका साथ शिर्षताको होडमा लिभरपुलको दावेदारी (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । लिगलिडर तथा साविक विजेता म्यानचेष्टर सिटीमाथि लिभरपुलले आफ्नो दबाबलाई निरन्तरता दिएको छ । बुधबार राती एनफिल्डमा सम्पन्न एक मात्र खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि ६–० को फराकिलो जित निकाल्यो र आफ्नो पकड बनायो ।

लिभरपुलको एकतर्फी जितमा दुई अफ्रिकी स्टार मोहमद सलाहले र साडियो मानेले दुई–दुई गोल गरे । खेल शुरु भएको १५औं मिनटमै मोहमद सलाहले पेनाल्टीबाट पहिलो गोल थपे । ३०औं मिनटमा जोएल मेटिपले त्यो अग्रता दोब्बर बनाए । त्यसको तीन मिनट लगतै सलाहले पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

त्यस्तै खेलको अन्तिमतिर रेडस्ले थप तीन गोल गर्न सफल भयो । ८० र ९०औं मिनटमा साडियो मानेले लगातार दुई गोल गर्दै घरेलु टोलीको अग्रता ५–० को स्थितिमा पुर्याए । त्यस्तै इन्जुरी समयको ९०+३औं मिनटमा भर्जिल भान डाईकले छैठौं गोल गर्दै टिमको फराकिलो जित पक्का गरे ।

यो नतिजापछि २६ खेलबाट ६० अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ र लिगलिडर म्यानचेष्टर सिटीभन्दा ३ अंकले मात्र पछाडी छ । उता पराजित लिड्स भने २५ खेलबाट २३ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...