खेलपत्रकार भोम्जनको स्मृतिमा आश्रमलाई सहयोग

हेटौंडा (खेलदैनिक) । विनाशकारी भूकम्प परी निधन भएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडाको एक वृद्धाश्रमलाई नगद सहयोग हस्तान्तरण गरिएको छ ।

हेटौंडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा आश्रितहरुलाई एकदिनको भोजन ग्रहण वापत नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय कार्यसमिति काठमाडौंले भोम्जनको स्मृतिमा मञ्चको मकवानपुर समन्वय शाखामार्फत् नगद दशहजार रुपैया“ सहयोग गरेको हो ।

स्मरण रहोस, भोम्जनको २०७२ साल वैशाख १२ गतेको भूकम्पमा परी निधन भएको थियो । उनका अनुसार भूकम्प १२ गते आएको भएपनि भोम्जनको शब भेटिएको दिन अर्थात वैशाख १९ गते स्मृति दिवस मनाउने गरिएको छ । भोम्जन मञ्च मकवानपुरका संस्थापक अध्यक्ष समेत थिए ।

मञ्च मकवानपुर अध्यक्ष राजन दाहाल, मृतक भोम्जनकी आमा विमला भोम्जन, दाजु मदन भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरद्वय रञ्जन विष्ट र अञ्जन विष्टसहितको समूहले उक्त रकम आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए ।

भोम्जनको स्मृतिमा प्रत्येक वर्ष वैशाख १९ गतेको दिनमा मञ्चले विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको भएपनि यसवर्ष कोरोना भाइरसका कारण जिल्ला शाखामार्फत् आश्रमलाई सहयोग उपलब्ध गराइएको जिल्ला अध्यक्ष दाहालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...