तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा (खेलदैनिक) । पोखरामा यही जेठ १८ गते हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ मा मनोनयनमा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर उत्कृष्ट तिनको मनोनयन सार्वजनिक गरेको हो ।

पोखरा स्पोटर््स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा शारीरिक सुगठनका कमलबहादुर भण्डारी, क्रिकेटका करण केसी र आर्चरीका तिलक पुन मगर मनोनयनमा परेका छन् । अवार्ड समारोहमा सर्वोत्कृष्ट खेलाडी छनोट गरी टिभिएस अपाचे मोटरसाइकल, दोसल्ला सहित ट्रफी प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ करातेकी बिमला नेपाली, हक्कीकी कमला पुन र आर्चरीकी केशरी आले मगर मनोनयमा परेका छन् । अवार्ड जित्नेले टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्लाका साथ पुरस्कृत हुने मञ्च कास्कीले जनाएको छ ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ एथलेटिक्सका विवेक अधिकारी, कबड्डीकी बुद्धिमाया मगर र क्रिकेटका मेगबहादुर सेन मनोनयनमा परेका छन् । यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा शारीरिक सुगठनका जीवन घिमिरे, क्रिकेटका रिजन प्रजु र करातेका शिवबहादुर गुरुङ मनोनयनमा परेका छन् । यी दुइ विधामा अवार्ड जित्नेलाई नगद १५ हजार, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चले जनाएको छ ।

साथै, चारै विधामा उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक–एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिने मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए । मञ्चले यस वर्ष सर्वोत्कृष्ट उत्कृष्ट खेल संघ बिधामा कास्की जिल्ला ब्याडमिन्टन संघलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । अवार्ड वितरण समारोहमा संघलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्षदेखि खेल पर्यटन पत्रकारिता पुरस्कारको बिधा पनि थपेको छ । कास्कीमा रही कम्तिमा ५ वर्ष खेलकुदलाई पर्यटनसँग जोडेर कलम चलाउँदै आएका एक जना पत्रकारलाई हरेक वर्ष नगद १५ हजारसहित दोषल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने उद्धेश्यले यस वर्षदेखी यो विधा थपेको मञ्च कास्कीका सचिव रञ्जन अधिकारीले जनाए । सो अवसरमा खेलसम्बन्धी गीत गाएर योगदान दिएको भन्दै गायक बिनोद बानियाँलाईसमेत सम्मान गरिने भएको छ ।

लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई

त्यसैगरी खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेल पूर्वाधारका अभियन्ता प्रा.डा. वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने भएको छ । प्राज्ञिक क्षेत्रका व्यक्तित्व रहेर पनि पोखरामा खेलकुदका विकासमा उनको योगदानको कदर गर्दै मञ्चले सम्मान गर्न लागेको हो । उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्रमुख हुन् । पोखरामा हक्की खेल भित्राउने श्रेय उनलाई नै जान्छ । लनटेनिससँगै अहिले लोकप्रिय बनेको क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा उनको महत्वपूर्ण योगदान छ ।

भूतपुर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष समेत रहेका गुरुङ २०६१ सालमा पोखरा रंगशाला पर्खाल निर्माण समितिको संयोजक पनि हुन् । क्यानका पूर्व उपाध्यक्ष, कास्की क्रिकेटका पूर्व अध्यक्ष, क्रिकेट मैदान निर्माण संयोजक समेत भएर गुरुङले योगदान गरेका छन् । उनलाई पोखरा स्पोर्टस अवार्ड वितरण समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक दिननाथ बरालले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पत्रकारले आयोजना गरेको यो अवार्ड पत्रकार र खेलाडीको मात्र नभई सम्पूर्ण पोखरेलीको प्रतिष्ठाको विषय भएको बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...