प्रतिष्ठित् ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७३ भदौमा

काठमाडौं (खेलदैनिक) । नेपाल खेलकुद पत्रकार मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४ औं संस्करण आउँदो भदौ २६ गते हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी गरी मञ्चले अघिल्लो वर्षजस्तै यस वर्ष पनि भव्यताका साथ अवार्ड कार्यक्रम आयोजना गर्दै आठ बिधामा अवार्ड प्रदान गरिने जानकारी दिएको छ ।

२०७३ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक, खेल अधिकारी तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

अघिल्ला वर्षहरुमा जस्तै वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, स्पेसल अवार्ड, उत्कृष्ट पारा एथ्लिट अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने समेत आयोजकले जनाएको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले मूख्य प्रायोजन गरेको अवार्डका तीन बिधाका बिजेताले बजाज पल्सर मोटरसाइकल पाउने गरेकोमा यस वर्षदेखि चार जना बिजेताले मोटरसाइकल पाउने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बर्षको उत्कृष्ट पुरुष र महिला तथा पिपुल्स च्वाइस अवार्डका बिजेताले मोटरसाइकल पाउँदै आएका थिए । तर नयाँ कुन बिधाका बिजेतालाई मोटरसाइकल दिने भन्नेबारे अझै टुंगो नलागेको आयोजकले जनाएको छ ।

त्यस्तै बाँकी ४ बिधाका बिजेताले जनही ५० हजार पुरस्कार तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।
पाँच वर्षको सम्झौता अनुसार गोल्छा अर्गनाइजेसनले यस वर्षका लागि १८ लाख ९० हजारको मुख्य प्रयोजन गरेको कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिए ।

यसपालीको प्रायोजन रकम नगद र जिन्सीको रुपमा १८ लाख ९० हजार रुपैयाँ रहेको पनि उहाँले जानकारी गराउनुभयो । प्रायोजन रकम गत वर्षभन्दा ४० प्रतिशतले बृद्धि भएको मञ्चका अध्यक्ष महेश आचार्यले बताउनुभयो ।

पल्सर स्पोर्टस् अवार्ड २०७३ सफल पार्न मञ्चका अध्यक्ष महेश आचार्यको संयोजकत्वमा मूल समारोह समितिका साथै विभिन्न उपसमितिहरु समेत गठन गरिसकिएको छ । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमा विभिन्न विधाका मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...