खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं जेठ २१ गते ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विभिन्न माग राखी चार बुँदामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सातदोबाटोमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई आइतबार हस्तान्तरण गरे ।

खेलाडी संघले सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र कीर्तिमानधारीलाई दिने भनिएको नगद पुरस्कार सम्बन्धित खेलाडीलाई तत्काल उपलब्ध गराउन माग गरेको छ । सातौं राष्ट्रिय खेलकुदको व्यक्तिगत र टिम स्पर्धामा क्रमशः १५ र ७ हजार दिने घोषणा गरिएको थियो । कीर्तिमानधारीलाई नगद २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको थियो ।

आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुदको तयारी तत्काल थाल्न भनिएको छ । त्यस्तै २०७४ सालमा राखेपबाट खेल र खेलाडीका लागि तय गरेको कार्यक्रम अविलम्ब सार्वजनिक गर्न खेलाडी संघले माग गरेको छ ।

सदस्य–सचिव विष्टले खेलाडीको पुरस्कार चाँडै वितरण गरिने बताउदै विगतका राष्ट्रिय खेलकुद भन्दा आठौं अझ राम्रो र व्यवस्थित हुने बताए । उनले आठौं राष्ट्रिय खेलकुदको सम्भावित खेल स्थलको अध्ययनका लागि समिति गठन गरी तयारी प्रारम्भ गरिएको समेत जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस

Loading...