प्रशासन विभाग प्रमुखमा आचार्य

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशासन विभाग प्रमुखको जिम्मेवारी बासुदेव आचार्यलाई दिएको छ । जेठ १ गतेदेखि लागू हुने गरी प्रशासन विभाग प्रमुख तोकिएका आचार्यले बुधबार त्रिपुरेश्वरस्थित कार्यकक्षमा पदबहाली गरे ।आचार्यलाई राखेपअन्तर्गत विभिन्न विभाग र शाखाका प्रमुख, कर्मचारीलगायतले बधाइ दिनुका साथै सफल कार्याकालका लागि शुभकामना दिएका थिए ।

आचार्य २०४७ सालमा लेखापालमा स्थायी रुपमा राखेपमा सेवा प्रवेश गरेका थिए । आर्थिक प्रशासनमा राम्रो दखल राख्ने आचार्यसंग सुरुदेखि २०७२ सालसम्म आर्थिक प्रशासन शाखामा काम गरेको अनुभव छ । त्यसबीचमा करिब साढे ९ वर्ष आचार्यले आर्थिक प्रशासनको प्रमुख भएर काम गरेका थिए ।

विभागीय प्रमुख हुनअघि आचार्यले बजेट तथा योजना शाखामा प्रमुखको रुपमा एक वर्ष बिताएका थिए । आचार्यअघि प्रशासन विभागकै प्रशासकीय अधिकृत भोजानन्द राईले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रमुखको रुपमा काम गर्दै आएका थिए ।

रोल्पाको लिवाङ निवासी ५६ वर्षीय आचार्यले पदबहाली पछि संक्षिप्त प्रतिक्रिया दिदै भने– ‘प्रशासनलाई अझ प्रभावकारी ढंगले अगाढि बढाउनेमा प्रयत्न गर्ने छु’ ।


प्रतिक्रिया दिनुहोस

Loading...