पुषमा प्रदेश खेलकुद प्रतियोगिता हुने

हेटौडा (खेलदैनिक) । प्रदेश खेलकुद पुष महिनाबाट बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

असोज १५ गते बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा बसेको परिषद्को बैठकले आगामी पुष महिनादेखी माघ सम्म प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रदेश खेलकुद विकास परिषद्ले विनियोजन गरेको ४ करोड रुपैयाँ र ५४ लाख रुपैयाँ प्रदेश सरकार संग माग गरि प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

स्थानीय , जिल्ला र प्रदेश गरि तीन चरणमा हुने प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टनका खेलहरु हुनेछन् ।

आगामी फागुन महिनादेखी हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको लागी प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

एक महिना सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाले सहभागिता जनाउने र महिला र पुरुषको टिम सहभागी हुने भण्डारीले जानकारी दिए ।

त्यसैगरी प्रदेश खेलकुद विकास परिषद्ले आगामी कार्तिक १३ गते विश्वमै पहिलोपटक दोलखाको चरिकोटमा हाइ अल्ट्रीच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँच पोखरीमा अल्ट्रा म्याराथन र मङ्सिर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगीता आयोजना गर्ने निर्णय समेत गरेको छ ।

परिषद्ले प्रदेश फुटबल लिग आयोजना गर्न र सहिद स्मारक ए डिभिजन लिगमा लागत साझेदारी गर्नका लागि एक करोड रुपैयाँको सम्झौता समेत गरिसकेको छ ।

परिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडी तथा खेल क्षेत्रमा योगदान दिएका ब्यक्ति तथा संस्थाहरुलाइ सम्मान गर्ने निर्णय पनि गरेको छ ।

गौरिटारमा प्रदेश खेलकुद विकास परिषद्को कार्यालय बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यालय हेटौंडा–६ गौरीटारमा सारिएको छ । शुक्रबार सामाजिक विकास मन्त्री विजय सुवेदीले गौरीटारमा रहेको साढे ३ तल्ले भवनको उद्घाटन गर्नुहुँदै प्रदेश खेलकुद विकास परिषद्को कार्यालय शुभारम्भ गरिएको हो ।

संघीय सरकारको बजेटमा निर्मित उक्त भवन निर्माण सम्पन्न भएपछि औपचारिक रुपमा पहिलो पटक प्रदेश खेलकुद विकास परिषद्को कार्यालय रहने गरी उद्घाटन भएको हो । यसअघि उक्त भवनलाई कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेशन वार्डको रुपमा प्रयोग गरिएको थियो ।

कार्यालय उद्घाटन कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्का सदस्यद्वय माधव तिमल्सिना, कल्पना शर्मा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...