नवनियुक्त सदस्य–सचिव सिलवालद्वारा पदबहाली

नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवाल (बीच) लाई पत्र प्रदान गर्दै खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार पदबहाली गरेका छन् । सिलवाललाई सोमबारै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सदस्य–सचिवमा नियुक्त गरेका हुन् ।

पदबहाली अघि खेलकुद मन्त्री विश्वकर्माले सिलवाललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको ४ वर्षे कार्यकाल असार ९ गते सकिएपछि सदस्य–सचिव पद रिक्त थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले नवनियुक्त सदस्य–सचिवलाई आफूले पाएको जिम्मेवारीमा ढृद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताउदै निवर्तमान सदस्य–सचिवसंगको सहकार्य सुखद रहेको बताए ।

सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद बुझेकोले खेलकुदको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै निर्धारित समयमा साग सम्पन्न गर्नु मुख्य चुनौती रहेको बताए ।

नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालको पदबहाली कार्यक्रममा निवर्तमान सदस्य–सचिव केशवकुमार विष्ट ।

खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सागको तयारी अहिले म्याराथनको अवस्थामा रहेको र यसलाई एक सय मिटर दौडको गतिमा लान आवश्यक रहेको बताउदै नवनियुक्त सदस्य–सचिवबाट धेरै आशा गरिएको बताए ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले नवनियुक्त सदस्य–सचिवको कार्यकालमा खेलकुदले झन गति लिने बताउदै त्यस कार्यमा सबैको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त सदस्य–सचिव सिलवालले आफूले सबै भन्दा माया गर्ने विधा खेलकुद भएको बताउदै जागिर खान नभइ खेलकुदमा केहि गरौं भनेर खेलकुद परिषद्मा आएको बताए । उनले १३ औं साग अवसर र चुनौती दुवै भएको बताउदै साग समयमै आयोजना हुनु पर्छ भन्नेमा आफू सचेत रहेको बताए ।

नि वर्तमान सदस्य–सचिव विष्टले खेलकुद क्षेत्रमा लामो समयदेखि संलग्न एक योग्य व्यक्तिले खेलकुद परिषद्को नेतृत्व पाएको बताउदै आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । निवर्तमान सदस्य–सचिव विष्ट नवनियुक्त सदस्य–सचिव सिलवालको शपथ र पदबहाली दुवै कार्यक्रममा सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...