नेपालगंज आइपुग्यो भिआइपी प्यारापिट, जडान कार्य पनि शुरु

बाँके (खेलदैनिक) । प्रतिष्ठित आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पार्ने क्रममा नेपालगंज रंगशालामा भिआइपी प्यारापिटको जडान गर्ने कार्य पनि शुरु भएको छ । मंगलबारदेखि प्यारापिट जडान कार्य शुरु गरिए तापनि सो प्यारापिट भने सोमबार नेपालगंज रंगशालामा आइपुगेको थियो ।

नेपालगंज न्युजमा प्रकाशित खबरअनुसार सो भिआइपी प्यारापिट जडान कार्य एक साता भित्र सम्पन्न गरिने बताइएको छ । साथै चीनबाट ल्याइएको सो प्यारापिट जडानका लागि चिनिया इन्जिनियरहरुले नै काम गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले एक साताभित्र प्यारापिटको जडान कार्य सम्पन्न गरिने चिनिया इन्जिनियरले बचन दिएको बताए । आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन कार्यक्रम हुने नेपालगञ्ज रंगशालामा भिआइपी प्यारापिटको निर्माणमा ढिलाईले प्रतियोगिताको मिति तोक्न पनि ढिलाई भएको बताइएको छ ।

स्मरणीय छ, यहि चैत्र २७ गते राष्ट्रपतिबाट औपचारिक रुपमा उद्घाटन हुने आठौँको टिम गेम २२ गतेदेखि गर्ने राखेपको तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...