झापा खेलकुदमा उत्कृष्ट जिल्ला

पहिलो उत्कृष्ट झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालाई सम्मान पत्र प्रदान गरिदै ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले झापा जिल्ला खेलकुद विकास समितिलाई पहिलो उत्कृष्ट जिल्लाका रुपमा शुक्रबार पुरस्कृत गरेको छ ।

राखेपकै आयोजनामा धुलिखेलमा भएको राष्ट्रिय खेलकुद भेलाको समापनका अवसरमा विगत ३ वर्षको अवधिमा गरेको कामको मूल्यांकनका आधारमा झापालाई पहिलो उत्कृष्ट जिल्लाका रुपमा पुरस्कृत गरिएको हो ।

कास्की जिल्ला खेलकुद विकास समिति दोश्रो तथा कैलाली जिल्ला खेलकुद विकास समिति तेश्रो उत्कृष्ट जिल्लाका रुपमा पुरस्कृत भए । झापालाई ३ लाख, कास्कीलाई २ लाख र कैलालीलाई १ लाख नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरियो ।

राखेपका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा र सदस्य–सचिव केशवकुमार विष्टले झापाका अध्यक्ष शंकर थापा, कास्कीका अध्यक्ष यम गुरुङ र कैलालीका अध्यक्ष दीपक सिंहलाई नगदसहित सम्मान पत्र प्रदान गरे ।

सोही अवसरमा कपिलवस्तु र मकवानपुर जिल्ला खेलकुद विकास समितिलाई पनि प्रोत्साहन पुरस्कार स्वरुप समान २५–२५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । दुई भेलाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । भेलामा पाँचै क्षेत्रीय र ७७ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...