जनकपुरमा खेलकुद पूर्वाधार बनाउन राखेपलाई जग्गा

सम्झौता पत्र साटासाट गर्दै सदस्य–सचिव केशवकुमार विष्ट (दायाँ) र नारायण चौधरी ।

काठमाडौं (खेलदैनिक) । जनकपुर उप–महानगरपालिका वडा नं. १४ रजौरमा खेलकुद पूर्वाधार बनाउन गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वरले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई जग्गा उपलब्ध गराएको छ ।

गुठी संस्थानले लक्ष्मण मन्दिरको करिब १६ विघा १८ धुर जग्गा खेल पूर्वाधार बनाउन ३० वर्षका लागि लिजमा राखेपलाई उपलब्ध गराएको हो । राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र गुठी संस्थानका प्रशासक नारायण चौधरीले सो सम्बन्धी सम्झौता पत्रमा आइतबार सातदोबाटोमा हस्ताक्षर गरे ।

सदस्य–सचिव विष्टले उक्त जग्गामा फुटबल, क्रिकेट र हक्कीको स्टेडियम निर्माण गरिने जानकारी गराउदै कबड्डी, खो खो र कुस्तीको ट्रेनिङ भवनका साथै कभर्डहल पनि बनाइने बताए । सो क्षेत्रफललाई ‘श्रीराम–जानकी रंगशाला’ नामकरण गरिने भएको छ ।

जग्गा उपलब्ध गराए वापत राखेपले संस्थानलाई वार्षिक ९ लाख रुपैयाँ भाडा उपलब्ध गराउने छ । त्यो भाडामा हरेक २ वर्षको अन्तरालमा १० प्रतिशतले बृद्धि हुने पनि सम्झौतामा उल्लेख छ । उक्त क्षेत्रफलमा व्यवसायिक प्रयोजनका लागि पूर्वाधार निर्माण गरेको खण्डमा राखेपले आम्दानीको थप २५ प्रतिशत रकम संस्थानलाई उपलब्ध गराउनु पर्ने छ ।

सदस्य–सचिव विष्टले सबै पूर्वाधार तयार गर्न ५ देखि ६ अर्ब रुपैयाँ लाग्ने बताउदै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएपछि वास्तविक खर्च आउने बताए । उनले ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको पूर्वाधार बनेपछि मोफसलमा ठूला खेलकुद पूर्वाधारको अभावलाई केहि हदसम्म पूर्ति गर्ने विश्वास व्यक्त गरे ।

सदस्य–सचिव विष्टले खेलकुदका लागि उक्त जग्गा लिन २ वर्ष अगाडिदेखि प्रयास गरेको बताउदै आगामी आथिर्क वर्षदेखि निर्माण कार्यको मुख्य बजेट विनियोजन गर्ने बताए । उनले पालेको आवास गृह, फेन्सिङलगायतका स–साना काम भने यसै आर्थिक वर्षदेखि सुरु गरिने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...