माचुसिमा टोली जकार्ता जाने

एसिया प्यासिफिक च्याम्पियनसिपमा सहभागी हुन ३ सदस्यीय नेपाली माचुसिमा क्योकुसिन कराते टोली बिहीबार इन्डोनेसियाको जकार्ता प्रस्थान गर्ने भएको छ ।मे २१ तारिखमा हुने प्रतियोगिताको पुरुष ६५ केजीमाथि सन्तोष बुढाथोकी तथा ६०–६५ केजीमा सुजन गोलले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सन्तोषले गत नोभेम्बरमा जापानमा भएको आईकेओ माचुसिमा विश्व च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । त्यसबेला सन्तोषले चौथो स्थान हासिल गरेका थिए । सुजनको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

टोली नेताका रुपमा नेपाल माचुसिमा क्योकुसिन कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ राजकुमार गुरुङ पनि टोलीसंगै जकार्ता जाँदैछन् । गुरुङले त्यहाँ हुने बैठक र रेफ्री सेमिनारमा पनि भाग लिने बताइएको छ ।

प्रतियोगितामा विभिन्न २० राष्ट्रका ८० पुरुष खेलाडीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गर्ने गुरुङले जानकारी गराए । टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं माचुसिमा संघका वरिष्ठ सल्लाहकार प्रकाशसिंह कार्कीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...