गलाकका भोला बने च्याम्पियन

काठमाडौं (खेलदैनिक) । गलाक मुवाँथाइ क्लबका भोलाकुमार राई प्रथम गलाक मुवाँथाई फाइटको पुरुष ६० केजीमा बुधबार च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भोलाले फ्रेन्डसिप वेल्फेयरका विवेक गडाललाई पराजित गरे ।
राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा गोकर्णेश्वर मुवाँथाइ क्लबका लाक्पा तामाङले सुकेधारा मुवाँथाइ क्लबका आनन्द राईलाई हराए ।

पुरुष ५६ केजीमा केन्द्रीय मुवाँथाइ क्लबका सन्दिप तामाङले गोकर्णेश्वरका दावा फुन्जु शेर्पालाई पाखा लगाए । पुरुष ६३ केजीमा जिमखानाका करण वज्राचार्यले गोकर्णेश्वरका अब्राहम राईको चुनौती पन्छाए ।

पुरुष ५१ केजीमा सुकेधाराका तेज मगरले सुकेधाराकै यमन मोक्तान, ७२ केजीमा गोकर्णेश्वरका नवराज पराजुलीले गलाकका सलोन लेप्चा तथा ६५ केजीमा सुकेधाराका प्रवेश घिसिङले केन्द्रीयका एमडी रायनलाई पराजित गरे ।

एकदिने फाइटअन्तर्गत पुरुषतर्फ मात्र ७ स्पर्धामा भिडन्त भएको थियो । प्रतिस्पर्धालाई स्तरीय बनाउन प्रत्येक स्पर्धामा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा गराइएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौंमै ३ महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट गरिने छ । त्यस्तै उत्कृष्ट २ खेलाडीलाई गलाकले अनुबन्ध गर्ने अध्यक्ष कक्षपतिले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...