कुङफुका अन्तर्राष्ट्रिय निर्णायक वैद्य सम्मानित

सुरेश वैद्य (दायाँ) लाई सम्मान पत्र प्रदान गर्दै प्रशासकीय अधिकृत चन्द्रकुमार राई ।

काठमाडौं (खेलदैनिक) । बूढानीलकण्ठ उमा कुङफु क्लब, बाल विकास बोर्डिङ स्कुल र बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ ले उमा कुङफुका संस्थापक सुरेश वैद्यलाई शुक्रबार सम्मान गरेको छ ।

विगत १७ वर्षदेखि लन्डनमा बस्दै आएका वैद्यलाई सातौं डान प्राप्त गर्न सफल भएको सम्मान गरिएको हो । वैद्यले गत जुन २६ तारिखमा लन्डनको ओर्चेस्टरमा भएको उमा ब्रिटिस च्याम्पियनसिपका दौरान वल्र्ड युनाइटेड मार्सल आर्ट एसोसिएन (उमा) ले सातौं डान प्रदान गरेको थियो ।

सुरेश वैद्य (दायाँ) बूढानीलकण्ठ उमा कुङफु क्लबका अध्यक्ष दिनेश श्रेष्ठ (बीच) र प्रमुख प्रशिक्षक सुकमान लामालाई खेल सामाग्री हस्तान्तरण गर्दै ।

वैद्य उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । वैद्यले बेलायत र अन्य देशमा हुने विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरेका छन् । ५३ वर्षीय वैद्य उमा कुङफुमा २२ वर्षदेखि संलग्न छन् । त्यसअघि उनले खेलाडीहुँदै विभिन्न भूमिकामा उसुमा १२ वर्ष बिताएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले वैद्यलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । त्यस अवसरमा वैद्यले बूढानीलकण्ठ उमा कुङफु क्लबलाई सहयोग स्वरुप खेल सामाग्री पनि प्रदान गरेका थिए । वैद्यले क्लबका अध्यक्ष दिनेश श्रेष्ठ र प्रमुख प्रशिक्षक सुकमान लामालाई करिब ३० हजार मूल्य बराबरको सामाग्री हस्तान्तरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...