जुम्ल्याहा राणा दिदीबहिनी सेमिफाइनलमा

काठमाडौं बैशाख १२ गते ।

जुम्ल्याहा राणा दिदीबहिनी मायांका र माहिका राणा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा डिफेन्डिङ च्याम्पियन मायांकाले स्नेहा यादवलाई ६–१ र ६–१ तथा माहिकाले भगवती विकलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा इरा रावतले गंगा शर्मालाई ६–० र ६–३ तथा प्रेरणा कोइरालाले लुमु लामालाई ६–० र ६–० को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष सिंगल्समा जितेन्द्र परियारले कुमार अधिकारीलाई ६–० र ६–१, प्रणव खनालले नवीन मगरलाई ६–२ र ६–३, डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण वज्राचार्यले दावा शेर्पालाई ६–२ र ६–३ तथा सन्तोष खत्रीले अनिल शाहीलाई ६–३ र ६–४ को सोझो सेटमा पाखा लगाउदै अन्तिम चारमा स्थान पक्का गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजन तथा काठमाडौं जिल्ला लनटेनिस संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपकमान श्रेष्ठले अशोक वज्राचार्यलाई ४–० र ४–० ले निराश पार्दै सेमिफाइनलमा पुगे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुप, कर्मा घले र पृथ्वी थकाली, सहदेव ढुंगाना र ध्रुव गुरुङ तथा पृथ्वीमान गुरुङ र राजेन्द्र गैरैको जोडी सेमिफाइनलमा पुगे । भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा राजु क्षेत्री र डिगेन्द्र श्रेष्ठ, प्रेम थापा र भुअरुण मल्ल, सञ्जय अमात्य र धर्मरत्न शाही तथा लोक गुरुङ र धरम लामिछानेको जोडी सेमिफाइनलमा प्रवेश गरे । भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा राजु क्षेत्री र राजेश परियार, महेश श्रेष्ठ र कमल भण्डारी, आत्माराम कार्की र अनुज अरोरा तथा छेवाङ लामा र मनोज शाहको जोडी सेमिफाइनलमा पुग्न सफल भए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा समिर शेरचन, मनोज शाह, प्रदीप शाह र प्रताप मोक्तान सेमिफाइनलमा पुगे । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, निरज थापा, कमल भण्डारी र राजु श्रेष्ठले सेमिफाइनल यात्रा तय गरे ।

प्रतियोगिताअन्तर्गत बुधबारदेखिका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...