नेपालकी अभिलाषा र टेलरको जोडी पहिलो

काठमाडौं (खेलदैनिक) । नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।

पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे ।

सर्किट– १ को गल्र्स डबल्समा पनि अभिलाषा र टेलरको जोडी नै पहिलो भएका थिए । अभिलाषा गल्र्स सिंगल्समा पनि फाइनल पुगेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

ब्वाइज डबल्समा भने नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेतामा सीमित बने । सर्किट– १ पनि उक्त जोडी उपविजेता बनेको थियो । फाइनलमा रसियाली जोडीले नेपाली जोडीलाई ४–६, ६–० र १०–६ को सेटमा हराए ।


प्रतिक्रिया दिनुहोस

Loading...