हिरानो र साउको जोडी च्याम्पियन

नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– १ अन्तर्गत पुरुष÷महिला डबल्सका स्वर्ण विजेता ।

काठमाडौं (खेलदैनिक) । जापानका ताइयो हिरानो र ताइपेईका चिया फन साउको जोडीले नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– १ अन्तर्गत पुरुष डबल्स उपाधि शुक्रबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले फाइनलमा चीनका वेन्माउ लि र याङझुवानको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।

महिला डबल्समा हङकङकी चुइ केइ लिउङ र भारतकी सान्या सिंहको जोडी च्याम्पियन बने । फाइनलमा उक्त जोडीले भारतका स्मृति भासिन र रुदया शाहको जोडीलाई ६–० र ७–५ को सीधा सेटमा हराए । विजेतालाई आयोजक अखिल नेपाल लनटेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले पुरस्कृत गरे ।

पुरुष डबल्स उपाधि विजेता हिरानो र साउ सिंगल्समा भने एक अर्का विरुद्ध फाइनलमा भिड्ने छन् । सेमिफाइनलमा हिरानोले भारतका अनुराग अग्रवाललाई ६–२ र ६–० ले पाखा लगाए भने साउले जापानका ताइसेई कागेयामाबाट वाक ओभर पाए ।

महिला सिंगल्समा चीनकी यिमिङ दाङ र अमेरिकाकी रुतुजा छप्हल्कर फाइनलमा पुगे । यिमिङले जापानकी कानोन यासुमोटोलाई ६–२, ०–६ र ७–६(२) तथा रुतुजाले भारतकी दिब्या भानीलाई ६–१ र ६–१ को सेटमा निराश पारे । सिंगल्स फाइनल शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...