राष्ट्रिय जुनियर टेनिसमा प्रशंसा र आर्यन पहिलो

राष्ट्रिय जुनियर टेनिसको यु–१८ ब्वाइज सिंगल्समा प्रणव खनाल विरुद्ध प्रतिस्पर्धा गर्दै सम्यकभूषण वज्राचार्य ।

काठमाडौं (खेलदैनिक) । प्रशंसा मोक्तान र आर्यन गिरी प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको आ–आफ्नो स्पर्धामा बुधबार पहिलो भएका छन् । प्रशंसा यु–१० गल्र्स तथा आर्यन यु–१२ ब्वाइज सिंगल्समा च्याम्पियन बने ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले रोशनी लिम्बूलाई ७–५, ४–६ र १०–७ ले पराजित गर्दै प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । यसअघि प्रशंसाले यु–९ सिंगल्समा पनि पहिलो स्थान हात पारेकी थिइन् ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज फाइनलमा आर्यनले प्रणव मानन्धरलाई ६–४ र ६–० को सोझो सेटमा हराए ।

चार खेलाडी सहभागी यु–१८ ब्वाइज सिंगल्सको राउन्ड रोविन लिगमा राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्यले प्रणव खनाललाई ६–३ र ६–२ को सीधा सेटमा पन्छ्याउदै लगातार दोश्रो जित निकाले । पहिलो खेलमा संरक्षकले साम्राज्ञ कट्वाललाई हराएका थिए । अब उनले निनवाम राईसंग खेल्न बाँकी छ । त्यस्तै प्रणवले साम्राज्ञ कट्वाल विरुद्ध भिड्ने छन् । प्रणवले पहिलो खेलमा निनलाई पराजित गरेका थिए । संरक्षक र प्रणव दुवैको खेल बिहीबार हुनेछ ।

बिहीबारै विभिन्न तीन स्पर्धाको फाइनल खेल पनि हुनेछ । यु–१४ सिंगल्सको गल्र्समा प्रेरणा कोइराला र सलोनी तामाङ तथा ब्वाइजमा आदित सुवेदी र सम्यकभूषण वज्राचार्य उपाधिका लागि भिड्ने छन् । यु–१२ गल्र्स सिंगल्सको फाइनलमा रायना शाहले ईशाश्री शाह विरुद्ध प्रतिस्पर्धा गर्ने छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...