आइस हक्कीमा नेपाललाई जापानले सहयोग गर्ने

काठमाडौं (खेलदैनिक) । नेपाली खेलकुदमा केही खर्चिलो र असहज मानिएको आइस हक्कीको विकासमा जापान आइस हक्की संघले सहयोग गर्ने भएको छ ।

नेपाल आइस हक्की संघका महासचिव गणेश रिमाल हाल जापान भ्रमणमा छन् । सोही भ्रमणका क्रममा रिमालले जापान आइस हक्की संघका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष कुमिहारु कितागावा लगायतका अन्य विशिष्ट पदाधिकारीहरुसँग भेटघाट गरेका छन् ।

सोही भेटघाटका क्रममा अध्यक्ष कितागावाले आफूहरुको तर्फबाट नेपालमा आइस हक्कीको विकासका लागि सबै किसिमको सहयोग गर्ने बताएका छन् ।

नेपाल आइस हक्की संघका महासचिव रिमालका अनुसार उक्त भेटघाटमा दुवै देशको आइस हक्की संघबीचको आपसी सम्बन्ध, खेलाडीहरुलाई आवश्यक तालिम, नेपालमा आइस हक्कीको विकास र आइस रिङ्गको निर्माणका लागि आवश्यक सहयोगबारे छलफल भएको बताए । उक्त अवसरमा गूडविल एमब्यास्याडर शिव खड्काको पनि उपस्तिथी रहेको थियो।

केहि दिनका लागि जापान भ्रमणमा रहेका रिमालले सो अवसरमा जापान आइस हक्की संघका पदाधिकारीहरुलाई नेपालमा आइस हक्कीका लागि अनुकुल प्रकृतिक तालहरु रहेकाले त्यसलाई सही रुपमा सदुपयोग गर्न सके देशमा आइस हक्कीको विकाससँगै नेपालको पर्यटन सम्भावना पनि थप फस्टाउने प्रस्टाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...