खेलकुदका प्रमुख आकर्षक पेशाहरु

– रविन गुरुङ

मेरो पछिल्लो लेखमा खेलमैदान निर्माण गर्दा ध्यान दिनुपर्ने पक्षका बारेमा चर्चा गरिएको। थियो । मैदान संरचना निर्माण क्रमसंगै खेलकुदमा अवसर र सम्भावनाहरु पनि क्रमिक रुपले बढ्दै जान्छ । देशै भरि आयोजना भईरहने विभिन्न खेल प्रतियोगितामा ठुलो मात्रामा धनराशीको लगानी हुने गर्दछ, जहाँ खेलाडी संगै दक्ष खेलकुद व्यवस्थापकको माग उच्च छ ।

अहिलेको अवस्थामा विभिन्न खेलकुदमा लगानी गर्दै राम्रो ब्यबसायिक लाभ लिन सकिने पर्याप्त अवसरहरु पनि सिर्जना भईरहेका छन् । उधमीहरुका लागि नया आकर्षक विकल्प खेल–उधम हुन सक्दछ । खेलकुदमा रहने विभिन्न ब्यबसायिक सम्भावना मध्य प्रमुख पेशागत अवसरहरु यसप्रकार छन् ।

ब्यबसायिक खेलाडी

कुनै एक निश्चित खेल मात्र प्राथमिकतामा राखेर अभ्यास सुरु गर्नु ब्यबसायिक खेलाडीका लागि त्यो पेशाको पहिलो खुड्किलो हो । खेल छनोट गरिसकेपछि प्रशिक्षणमा निरन्तर मेहनत संगै सन्तुलित भोजन (पौष्टिक खानपिन) नै सफल ब्यबसायिक खेलाडीका सुत्र हुन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च सफलता हासिल गर्ने खेलाडीलाई सरकारले प्रोत्साहन स्वरुप सम्मान गर्ने गरेको छ । खेलाडीहरु खेलजीवनबाट सन्यास लिएपछि खेलकुद संस्थामा आबद्द भएर अन्य ब्यबसायिक पेशा पनि गर्ने गर्दछन् । क्रिकेटमा सन्दिप लामिछाने, फूटबलमा रोहित चन्द उच्च पारश्रमिक लिने नेपाली ब्यबसायिक खेलाडी हुन् ।

प्रशिक्षक (कोच)

खेलकुदमा प्रशिक्षक आर्कषक पेशामा पर्दछ । खेल सम्बन्धि ब्यबसायिक तालिम लिएर स्कुल, क्लब लगायत खेल संस्थाहरुमा जागिर गर्न सकिन्छ । फूटबलमा एन्फाले कोचको लागि तालिमको व्यवस्था गर्ने गरेको छ भने अन्य संघसंस्थाले आफ्नो खेल अनुरुप तालिम दिने गर्दछन् ।

नेपाल सरकारले सरकारी निजि स्कुलहरुमा खेल प्रशिक्षक नियुक्ति अनिबार्य रहने निति तर्जुमा गरेमा, प्रशिक्षक पेशाप्रति आकर्षण बढ्ने देखिन्छ भने विधार्थीले ग्रासरुटदेखि नै खेलकुद सम्बन्धि आधारभूत ज्ञान प्राप्त गर्ने अवसर पाउने छन् । आठौं राष्ट्रिय खेलकुद २०७५–२०७६ मा ६४० जना प्रशिक्षकले टिम सम्हालेका थिए । ए डिभीजन फूटबल लिगमा प्रशिक्षकका मासिक तलब ४५००० देखि ८०००० रुपैया सम्म रहने कोच धनेश प्रजापति बताउँछन् ।

रेफ्री–अम्पायर

प्रतियोगितामा खेलकुदको मापदण्ड कायम राख्न र खेलमा नियमको पालना शुनिश्चित गर्न म्याच रेफ्री नियुक्त गरिन्छ । मुख्य रेफ्रीलाई सहयोग गर्न सहायक रेफ्रीहरु पनि राखिन्छ । जसले समय र स्कोर जानकारी, भिडियो एसिस्टेन्ट रेफ्री (VAR) प्राविधिक, खेल सामग्रीको निरीक्षण गर्ने गर्दछन् ।

फूटबलमा मोफसलका प्रतियोगिता, क्रिकेटमा फ्रेन्चाइज लिगहरुको आयोजनाले नेपाली खेलकुदमा रेफ्रीको माग दिनानु दिन बढ्दो छ । कोर्स तालिम गर्दै, बरियता बढाउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय रेफ्रीको भूमिकामा रोमाञ्चक खेलहरुका अनुभब लिने होइन त ? हो भने अब रेफ्री कोर्ष सुरु गरौ !

खेल पत्रकारिता र कमेन्टरी

भिडियो, अडियो, छापा फोटोका माध्यमबाट खेलकूदका गतिविधिहरू विभिन्न संचारमाध्यममा आऊने गर्दछन् । टि. भी. रेडियो, पत्रपत्रिका, अनलाईन पत्रिकाहरूमा खेलकूदका फीचर स्तम्भ अनि खेलाडीका जीवन र खेलयात्राका श्रृंखला नै प्रसारण भईरहेका छन् ।

त्यसैले खेलकूदमा बिज्ञता, लेख्ने र दख्खल राख्नेको माग उच्च छ । खेलपत्रकारितामा आकर्षक रोजगारी र राम्रो पारश्रमिक छन् । साथै अवसरहरु पनि धेरै हुने गर्दछ । नेपाली खेलकुद पत्रकारितामा बिक्रम थापा, राजु घिसिङ, बिनोद पाण्डे, सुबाश हुमागाई र कमेन्टरीमा सन्जीब शिल्पकार चर्चित नाम हुन् ।

एथलेटिक ट्रेनर र फिजियो

यो पेशा स्वास्थ्य सेवासँग जोडिएको पेशा हो । मेडिकल शिक्षा संस्थावाट निश्चित कोर्ष पुरा गरेका सर्टिफाइड र लाइसेन्स प्राप्त अभ्यस्त एथलेटिक ट्रेनर–फिजियोहरु खेलाडीका औषधि उपचारमा केन्द्रित हुने गर्दछन् । खेलाडीहरुलाई चोटपटकबाट बच्न अपनाउनु पर्ने सावधानीका प्रक्रिया, चोटमुक्त हुन स्वास्थ्य लाभ सम्बधि परामर्श दिनुका साथै खेलाडीहरुको फिटनेस ब्यबस्थापनमा एथलेटिक ट्रेनर र फिजियोले सहयोग गर्दछन् ।

खेलमैदानमा हुने दुर्घटनाका फस्ट रेस्पोन्डर एथलेटिक ट्रेनरहरु नै फिजियो हुने गर्दछन् । खेलाडीहरुको चोटपटक अवस्थाबारे एथलेटिक ट्रेनर, फिजियो संग दुर्घटनाको जानकारी लिई डाक्टरहरुले औषधि(उपचार गर्ने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...