रसिया विश्वकपमा यस्ता छन् समूह बी का टोलीहरु

एजेन्सी । पोर्चुगल र स्पेन जस्ता दिग्गज टोली एउटै समूहमा परेपछि यो समूह बी लाई निकै रोमाञ्चक समूहका रुपमा हेरिएको छ ।

पोर्चुगल र स्पेनबीचको भिडन्त विश्वकपको समूह चरणमा हुने सबैभन्दा रोमाञ्चक भिडन्त हुने धेरैले अनुमान पनि गरेका छन् । साथै यो समूहबाट स्पेन र पोर्चुगल नै अघिल्लो चरणमा प्रवेश गर्ने धेरैले अनुमान गरेका छन् ।

यद्यपि सोही समूहमा रहेका मोरक्को र इरानले पनि खेलको नतिजालाई तलमाथि गर्न सक्ने धेरैको बुझाई छ । आउनुहोस समूह बी मा रहेका टोलीहरुबारे चर्चा गरौं ।

१) पोर्चुगल

फिफा वरियता : ३ (२१ डिसेम्बर २०१७)
मुख्य प्रशिक्षक : फर्नान्डो सान्तोस
कप्तान : क्रिष्टियानो रोनाल्डो

पाँचौंपटक प्रतिष्ठित बेलन डिअर अवार्ड जितेका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोको कप्तानीमा उत्रिने पोर्चुगललाई प्रतियोगिताको दावेदार मध्ये एक मानिएको छ । पोर्चुगलले सन् १९६६ देखि अहिलेसम्म कुल ७ पटक विश्वकपमा सहभागिता जनाईसकेको छ । सन् १९६६ को विश्वकपमा तेस्रो स्थान हासिल गर्नु नै पोर्चुगलको विश्वकपमा अहिलेसम्म कै सर्वोत्कृष्ट प्रदर्शन हो ।

२) स्पेन

फिफा वरियता : ६ (२१ डिसेम्बर २०१७)
मुख्य प्रशिक्षक : जुलियन लोपेटेगुई
कप्तान : सर्जियो रेमोस

विश्व फुटबलमा उत्कृष्ट मध्ये एक मानिएको स्पेनले विश्वकपमा १९३४ देखि हालसम्म १५ पटक सहभागिता जनाईसकेको छ । स्पेनले सन् २०१० को फिफा विश्वकप उपाधि समेत जितेको थियो । कयौं स्टार खेलाडीहरुले भरिएको स्पेनलाई पनि आगामी बर्ष हुने रसिया विश्वकपमा दावेदार मानिएको छ ।

३) मोरक्को

फिफा वरियता : ४० (२१ डिसेम्बर २०१७)
मुख्य प्रशिक्षक : हर्वे रेनार्ड
कप्तान : मेधी बेनाटिया

मोरक्कोले सन् १९७० देखि अहिलेसम्म ५ पटक विश्वकपमा सहभागिता जनाइसकेको छ । सन् १९८६ को विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गर्नु नै मोरक्कोको विश्वकपमा हालसम्मको उत्कृष्ट प्रदर्शन र उपलब्धी मानिएको छ ।

४) इरान

फिफा वरियता : ३२ (२१ डिसेम्बर २०१७)
मुख्य प्रशिक्षक : कार्लोस क्वीरोज
कप्तान : अशकान देजागाह

सन् १९७८ देखि अहिलेसम्म विश्वकपमा ५ पटक सहभागिता जनाएको इरानलाई समूह बी मा सबैभन्दा कमजोर टोली आँकिएको छ । इरानले हालसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...