कौस्तुभलाई फुटसल उपाधि

काठमाडौं (खेलदैनिक) । कौस्तुभ एकेडेमीले प्रथम काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

काठमाडौं महानगर प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कौस्तुभले सेचेनलाई १६–१ को विशाल गोलअन्तरले पराजित गर्यो । कौस्तुभको शानदार जितमा लक्ष्मण गुरुङले ७, विवस मगर र जोसेफ गोलले समान ४–४ तथा रविन बमले १ गोल योगदान गरे । सेचेनका ग्याल्चेन लोले सान्त्वना गोल गरे । विवस फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

समता शिक्षा निकेतनले नेपाल तारालाई सडन डेथ (९–८) मा हराउदै तेश्रो भयो । निर्धारित समयको खेल ४–४ को बराबरीमा सकिएको थियो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे । नगद पुरस्कार आईसीएफसी फाइनान्स लिमिटेड र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गरेको हो ।

बौद्धस्थित एरिना फुटसलमा भएको प्रतियोगितामा समताका दीपेन्द्र तामाङ उत्कृष्ट खेलाडी, कौस्तुभका अमरबहादुर नेवार उत्कृष्ट गोलरक्षक तथा कौस्तुभकै लक्ष्मण गुरुङ सर्वाधिक गोलकर्ता बने । उत्कृष्टत्रयले समान २–२ हजार नगद पुरस्कार पाए ।

विजेतालाई संघीय सांसद् कृष्णबहादुर राई, काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, आयोजक काठमाडौं महानगर प्याब्सन कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेल, वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...