एएफसी फुटसल छनौट : लगातार दोस्रो हारसँगै नेपालको चुनौति समाप्त

काठमाडौं (खेलदैनिक) । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनौटतर्फ नेपाली फुटसल टोलीले लगातार दोस्रो हार बेहोरेको छ । छनौट प्रतियोगितातर्फ सेन्ट्रल तथा साउथ जोनको समूह ए मा परेको नेपालले आफ्नो दोस्रो खेलमा बिहीवार चारपल्टको उपविजेता उज्वेकिस्तानसँग ४–१ को हार बेहोरेको हो ।

स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग ६–० को हार बेहोरेको थियो । उता उज्वेकिस्तानले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ६–२ ले हराएको थियो । त्यस्तै बुधबार नै भएको सोही समूहको अर्को खेलमा ताजिकिस्तानले अफगानिस्तानमाथि ५–२ को जित निकाल्यो ।

बिहीबारको त्यो नतिजासँगै समान ६–६ अंक जोडेका ताजिकिस्तान र उज्वेकिस्तान अंकतालिकाको क्रमश पहिलो र दोस्रो स्थानमा छन् । साथै आगामी बर्ष तुर्कमेनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि पनि छनौट भएका छन् । त्यस्तै अंकविहीन अफगानिस्तान र नेपाल क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्नेछ । जुन दुवै टोलीका लागि प्रतिष्ठाको भिडन्त हुनेछ । त्यस्तै शुक्रबार नै ताजिकिस्तान र उज्वेकिस्तान पनि भिड्ने छन् । यी दुई टोलीबीचको नतिजाले भने समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...