एएफसी फुटसल छनौट : नेपाल र ताजिकिस्तानको खेल आज, सुधारिएको प्रदर्शन गर्ने विश्वास

काठमाडौं (खेलदैनिक) । आगामी बर्ष तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटसल टोलीले बुधबार ताजिकिस्तानसँग आफ्नो पहिलो खेल खेल्दैछ । खेल इरानको उर्मियामा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुने छ ।

प्रतियोगिता शुरु हुनु अघि आयोजित प्रि–म्याच कन्फ्रेन्समा बोल्दै नेपाली फुटसल टोलीका प्रशिक्षक विष्णू गुरुङले टोलीको तयारी राम्रो भएकाले मैदानमा उत्रिन तयार भएको बताएका छन् । गुरुङले भने ‘छोटो समय भएपनि हाम्रो तयारी राम्रै भएको छ । टिम राम्रो बनेको छ । हामी मैदानमा उत्रिन तयार छौ ।’

प्रशिक्षक गुरुङले नेपाली टोली पहिला जस्तो नभएको समेत बताए । उनले आफ्नो टोलीमा धेरै परिवर्तन भएकाले प्रतिद्वन्द्वी टोलीलाई सचेत रहन समेत चुनौति दिए । उनले अगाडी भनेका छन् ‘अहिले हाम्रो टोलीमा धेरै खेलाडी परिवर्तन भएका छन् । टोलीमा युवा तथा नेपाली फुटबलमा लामो समयको अनुभब बटुलेका खेलाडी पनि छन् । जसले गर्दा टोलीको बोन्डीङ राम्रो बनेको छ ।’

प्रशिक्षक गुरुङले भने, ‘हाम्रो टिमलाई पहिलेको जस्तो कमजोर नसोच्नु होला । हामी पनि बलिया छौ र विपक्षिलाई रोक्न सक्ने क्षमता राख्दछौ । त्यसैले सबै टोली सचेत रहनु होला ।’ उनले अगाडी थप्दै भने, ‘हामीले नेपालमा म्याटमा प्रशिक्षण गरेका थियौ । यहाँ पार्केटिङमा प्रशिक्षण गर्यौ । पार्केटिङमा खेलाडीहरुको खुट्टा चिप्किने समस्या भइरेहेको छ । जसले गर्दा खेल दौरान खेलाडीको स्पिडमा समस्या देखिने छ । तर, नतिजा पहिले भन्दा सुधारिएको आउनेमा विश्वस्त छु ।’ प्रशिक्षक गुरुङले खेलाडीलाई डिफेन्सीभसँगै काउन्टर अट्याकिङ पोजिसनमा मैदान उतार्ने बताए ।

त्यस्तै नेपाली टोलीका कप्तान विजय गुरुङले प्रतियोगिता खेलाइने खैदानमा खुट्टा चिप्किने समस्याले खेल्ने गाह्रो हुने बताए । ‘मैदानले गर्दा खेल्न केही समस्या हुन सक्ने लाग्छ । तर हामी हाम्रो शतप्रतिशत दिने छौ । हाम्रो प्रमुख लक्ष्य विपक्षिलाई रोक्ने हो । उनीहरुले हामीमा माथी हेर्ने नजर बदल्नु छ र हामी पनि उनीहरु भन्दा कम छैनौ भन्ने प्रमाणित गर्नु छ ।’

यता ताजिकिस्तानका प्रशिक्षक डेजान डेडोभिकले एक महिना देखीको प्रशिक्षणले टिम राम्रो बनेको बताएका छन् । दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्य लिएको बताउँदै युएई र बहराईनसँगको मैत्रिपूर्ण खेलले टोली झनै बलियो बनेको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...