राष्ट्रिय फुटसल टोलीको ‘मुख्य प्रशिक्षक नियुक्ति’ विवाद चर्कियो

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकको नियुक्तिलाई लिएर फुटसल लेभल एक का प्रशिक्षकहरुले आक्रोश र असन्तुष्टी पोखेका छन् । असन्तुष्ट प्रशिक्षकहरु मध्ये दश जनाले त मुख्य प्रशिक्षकको छनौट प्रक्रिया नै गलत भएको बताएका छन् ।

स्मरण रहोस, एन्फा फुटसल कमिटीले आइतबार मात्र फुटबलर तथा प्रशिक्षक बिष्णु गुरुङ्गलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकममा नियुक्त गरेको थियो । एएफसी बी लाइसेन्स प्रशिक्षक समेत रहेका गुरुङ हाल संकटा क्लबबाट व्यवसायीक फुटबल खेल्छन् भने उनलाई हालै पोखराको सहारा क्लबले पनि आफ्नो मूख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

असन्तुष्ट प्रशिक्षकहरु मध्ये पूर्व राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राकेश श्रेष्ठ तथा राजेश शाहीद्वारा हस्ताक्षरित पत्रमा उनीहरुले एन्फासँग फुटसल टोलीको मुख्य प्रशिक्षकको छनौट प्रक्रिया के कस्तो आधारमा पूरा गरिएको हो कारण माग गरेका छन् ।

त्यति मात्र नभएर असन्तुष्टी पोखेका प्रशिक्षकहरुले हाल घरेलु फुटबल खेलिरहेका खेलाडीहरुलाई प्रशिक्षकीय जिम्मेवारी दिन नहुने सुझाव समेत दिएका छन् ।

उनीहरु भन्छन्, “बिष्णु गुरुङ हाल फुटबलमा सक्रिय भएर खेल्छन् । फुटसल कमिटीका अध्यक्ष दावा लामा, एन्फाका महासचिव इन्द्रमान तुलाधर तथा लिग डाइरेक्टर सन्जिव मिश्रले सक्रिय फुटबल खेलिरहेका खेलाडीहरुलाई त्यस्तो जिम्मेवारी नदिने बताएका थिए । तर त्यो व्यवहारमा लागु भएन ।”

त्यस्तै ती प्रशिक्षकहरुले टोलीमा केही अतिरिक्त खेलाडीहरुलाई पनि समावेश गरिएको आरोप कमिटीमाथि लगाएका छन् । साथै उनीहरुले लाइसेन्स प्राप्त नभएका प्रकाश परियारलाई पनि छनौट टोलीमा पार्ने बिषयलाई लिएर एन्फाको आलोचना समेत गरेका छन् ।

असन्तुष्ट प्रशिक्षकहरुले बुझाएको पत्रमा उनीहरुको प्रश्न छ, “गुरुङलाई के का आधारमा मुख्य प्रशिक्षकको जिम्मेवारी दिइयो ?”

विरोधपत्रमा हस्ताक्षर गरेका असन्तुष्ट प्रशिक्षकहरुको नामावली :

राकेश श्रेष्ठ, राजेश शाही, सरोज थापा, नरेश श्रेष्ठ, दिपक भुषाल, चेतन घिमिरे, बिक्रम महर्जन, पुरुषोत्तम थापा


प्रतिक्रिया दिनुहोस

Loading...