एएफसी फुटसल च्याम्पियनसिप : छनौट नेपालको समूहमा चारपटकको उपविजेता उज्बेकिस्तान

काठमाडौं (खेलदैनिक) । सन् २०२० मा तुर्कमेनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनौट खेलका लागि नेपाल समूह ए मा परेको छ । बिहीबार मलेसियामा निकालिएको ड्र अनुसार नेपालको समूहमा चार पटकको उपविजेता उज्बेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

छनौट प्रतियोगितातर्फ ईष्ट जोन, वेस्ट जोन र सेन्ट्रल–साउथ जोन गरी प्रत्येक समूहका शिर्ष दुई टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । नेपाल सेन्ट्रल–साउथ जोनमा परेको छ । जसको अर्थ नेपालको छनौट प्रतियोगितातर्फ उपविजेताका हैसियतले अन्तिम चरणमा प्रवेश गर्ने सम्भावना कायम छ ।

त्यस्तै ईष्ट जोनबाट छनौट हुने तेस्रो टोलीको छिनोफानो भने प्ले अफबाट गरिनेछ । त्यसैगरी वेस्ट जोनका उपविजेता टोलीहरुको पनि पाँचौं स्थान हासिल गर्दै अन्तिम चरणका लागि छनौट हुने सम्भावना छ । त्यसका लागि वेस्ट जोनमा रहेको दुई समूहको तेस्रो स्थान हासिल गर्ने दुई टोलीबीच प्ले अफ भिडन्त हुनेछ ।

प्रतियोगितामा आयोजक तुर्कमेनिस्तानसँगै छनौट चरणबाट आएका १५ गरी कुल १६ टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एसियाली फुटबल महासंघ (एएफसी) ले छनौट प्रतियोगिताको मिति भने अहिले तोकेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...