रुपन्देही : तिलोत्तमा ओपन फुटसलको सेमिफाइनल समिकरण पूरा

तिलोत्तमा (खेलदैनिक) । शनिबारदेखि शुरु दुई दिने तिलोत्तमा ओपन नकआउट फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

शनिबार भएको पहिलो चरण र क्वाटरफाइनलको खेलहरुबाट सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा स्मृति एफसी, शुट एफसी, फुलबारी गाईज र आयोजक मणिग्राम युनाइटेड (निलो) ले स्थान बनाउन सफल भएका छन् ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा स्मृतिले पहिलो चरणमा युनिक फुटसललाई हराएको थियो भने क्वाटरफाइनलमा आयोजक मणिग्राम युनाइटेड (हरियो) लाई पराजित गरेको थियो । त्यस्तै शुट एफसीले पहिलो चरणमा डिएमसीलाई पराजित गरेको थियो भने क्वाटरफाइनलमा एसवाइसीलाई हराएको थियो ।

त्यस्तै फुलबारी गाईजले पहिलो चरणतर्फ तिलोत्तमा युथ क्लबलाई पराजित गरेको थियो भने क्वाटरफाइनलमा सिद्धार्थ क्लबलाई हराएको थियो । उता आयोजक मणिग्राम युनाइटेडले पहिलो चरणमा जंग एफसीलाई हरायो भने क्वाटरफाइनलमा प्ले अन फुटसललाई पराजित गरेको थियो ।

अब प्रतियोगिताको सेमिफाइनलतर्फ स्मृति एफसीले शुट एफसीको सामना गर्नेछ भने आयोजक मणिग्राम युनाइटेड (निलो) ले फुलबारी गाईजसँग भिड्नेछ ।

मणिग्राम युनाइटेड, मणिग्राम, तिलोत्तमाको आयोजनामा जारी प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको छ । युनिक फुटसल अरिना, मणिग्राममा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...