सेबलाई फुटसल उपाधि

काठमाडौं (खेलदैनिक) । प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि मंगलबार सामाखुसी बोडिङ स्कुल(सेब) ले जितेको छ । फाईनल खेलमा सेबले प्रगति हाईस्कुललाई ५–२ गोल अन्तरले हराउदै उपाधि चुम्यो । सेबका लागि सुबाष तिम्लिसिनाले ह्याट्रीक गरे भने उमेश बिकले २ गोल गरे । त्यस्तै प्रगती हाईस्कुलका लागि अर्जुन राईले २ गोल फर्काएका थिए ।

प्रतियोगितामा प्रगतीका खेलाडी अर्जुन राई उत्कृष्ट खेलाडी घोषित भए । सेबका उमेश बिकले उच्च गोलकर्ता र उत्कृष्ट फरवार्डको उपाधि हात पारे । सेबकै सफल सेन ठकुरी उत्कृष्ट मिड फिल्डर घोषित भए भने सृजना ज्ञानसागरका अनिल वहादुर गुरुङले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते ।

जीवनको मूल आधार शिक्षा र खेलकुद भन्ने नाराका साथ संचालन भएको प्रतियोगिताको बिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी ,आयोजक संस्था ओप्सका अध्यक्ष एवंम् हिमरश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्का,प्रतियोगिता संयोजक एवंम् एन्जल्सहार्ट स्कुलका प्रिन्सिपल धनवहादुर पुनलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...