हेटौडामा स्व. राईको स्मृतिमा फुटसल प्रतियोगिता हुने

हेटौडा (खेलदैनिक) । मकवानपुरका चर्चित फुटबलर एवम ए डिभिजन खेलाडी वीरेन्द्र राईको स्मृतिमा हेटौंडामा फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ ।

गुगल स्पोर्टस् हाउस हेटौंडाको आयोजनमा स्वर्गीय वीरेन्द्र राई स्मृति खुला फुटसल प्रतियोगिता–२०७४ आयोजना गर्न लागिएको हो । हेटौंडा–४ स्थित कमलडाँडामा रहेको फुटसलमा स्थानीय १६ वटा क्लबबीच नकाउट आधारमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

असार २४ गते शनिबार हुने उक्त प्रतियोगिताका लागि पूर्वफुटबलरहरुको समूहले प्राविधिक सहयोग गर्ने भएका छन् । फुटसलको नियमानुसार प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपियाँ र उपविजेताले नगद दशहजार रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका उत्कृष्ट फुटसल टोलीको सहभागिता रहनेछन् ।

प्रतियोगितालाई आगामी वर्षपनि निरन्तरता दिने पक्षमा आयोजक रहेको छ । राई हेटौंडाका चर्चित फुटबलर थिए । उनको गतवर्ष थाइराइका कारण निधन भएको थियो । उनी मकवानपुरका फुटबल कप्तान समेत थिए । उनले मच्छिन्द्र, सरस्वती क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...