फिल्ममा आउँदै नवयुग !!

काठमाडौं (खेलदैनिक) । नेपालमा फुटबलकै लोकप्रियतालाई हेरेर कतिपय निर्माता, निर्देशकहरुले फुटबल वा फुटबलरबारे चलचित्र बनाउने घोषणा गर्छन् । कसैले बनाउँछन् पनि भने कसैको यो कुरा घोषणा मै सिमित हुन्छ ।

यसै क्रममा फुटबललाई केन्द्रमा राखेर नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक, निर्माता तथा निर्देशक भुवन केसीले पनि चलचित्र बनाउने घोषणा गरेका छन् । स्रोतका अनुसार केसीले चर्चित नेपाली फुटबलर नवयुग श्रेष्ठको कथामा नेपाली चलचित्र बनाउन लागेका हुन् । जसमा नवयुगको भूमिकामा उनकै छोरा नायक अनमोल केसी देखिने छन् ।

यसबारे बुझ्न एन्फाका कार्यकारी प्रमुख इन्द्रमान तुलाधरसँग सम्पर्क गर्दा उनले अभिनेता भुवन केसीले एन्फामा आएर भेटघाट गरेको बताउँदै तुलाधरले भने “हामीले भनेका छौं यदि उहाँले नेपाली फुटबलबारे चलचित्र बनाउनुभयो भने त्यसमा हाम्रो पूर्ण समर्थन रहनेछ । यद्यपि यसबारे हामीलाई विस्तृत जानकारी छैन ।”

यसबारे खेलदैनिकले अभिनेता भुवन केसीसँग सम्पर्क गर्न खोज्दा केसीसँग सम्पर्क हुन सकेन ।

विभागीय टोली नेपाल आर्मीबाट व्यवसायीक फुटबल खेलीरहेका स्टार फरवार्ड नवयुग श्रेष्ठले गत वर्ष नेपाललाई तीन ठूला उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...