एन्फाले थ्री स्टारलाई डेढ करोड दिने

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलको नियमनकारी संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री स्टार क्लवलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । एन्फाकै गल्तीले एएफसी कपको प्लेअफ खेल्नबाट बञ्चित भएपछि थ्री स्टारले एन्फासँग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो ।

एन्फा, थ्री स्टार, कानुनी सल्लाहकार र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीबिच बुधबार भएको छलफलमा थ्री स्टार क्लवलाई क्षतिपूर्तिस्वरुप डेढ करोड रुपैयाँ दिने सहमति भएको थियो । यद्यपि रकम हस्तान्तरणको प्रक्रिया पूरा गर्न केही समय लाग्ने बताइएको छ ।

गत वर्ष अगस्टमा मंगोलियाको इर्चिम क्लवलाई हराएर थ्री स्टार क्लव एएफसी कपको प्लेअफको लागि छनौट भएको थियो । त्यसपछि डिसेम्बरमा एएफसीले प्रतियोगितामा सहभागिताबारे पटक–पटक पठाएका इमेल एन्फाले नहेर्दा थ्री स्टारले प्लेअफ खेल्नबाट बञ्चित भएको थियो ।

त्यसलगतै थ्री स्टार क्लबले खेलकुद निकायहरुमा उजुरी दिनुका साथै सबैखाले फुटबल गतिविधी बहिष्कार गर्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...