नेपाली यु–२३ फुटबल टिमका प्रशिक्षकमा राजुकाजी शाक्य

प्रशिक्षक राजुकाजी शाक्य । (तस्विर : गगोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्य नियुक्त भएका छन् ।

एन्फाले पनि सिनियर प्रशिक्षक शाक्यलाई नै प्रशिक्षकमा नियुक्त गरिएको बारे आधिकारिक रुपमा पुष्टी गरेको छ । यससँगै युएई जाने नेपाली यु–२३ को नेतृत्व शाक्यले गर्ने भएका छन् ।

एन्फाका कार्यकारी प्रमुख इन्द्रमान तुलाधरले यसबारे पुष्टी गर्दै भने ‘सिनियर कोच राजुकाजी शाक्यले नै नेपाली यु–२३ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नेछन् ।’

यसअघि टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसीको नाम सार्वजनिक गरिए तापनि केसीले आफ्नो व्यस्त कार्यतालिकाले गर्दा नभ्याउने भएपछि उनको स्थानमा शाक्यलाई नियुक्त गरिएको एन्फाले जनाएको छ ।

नेपालले आउँदै जुलाई १९ तारीखदेखि २३ तारीखसम्म युएईमा एएफसी यु–२३ च्याम्पियनसिप २०१८ को छनौट खेल खेल्दैछ । जसअन्तरगत नेपाल आयोजक युएई, लेबनान र उज्बेकिस्तानसँगै समूह डी मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...