सर्वाधिक पुरस्कार राशिको बिद्यालय फुटबल हुने

पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउँदै आयोजकका पदाधिकारीहरु ।

काठमाडौं (खेलदैनिक) । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्बाधिक नगद राशिको विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।

आगामी साउन १५ गतेदेखि हुने प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक सय विद्यालयको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्ने मुल आयोजक समितिका अध्यक्ष दिपक क्षत्रीले जानकारी दिए । उनले निजी क्षेत्रबाट आयोजना भएको विद्यालय स्तरको अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता भएको दावी गरे । त्यस्तै प्रतियोगिताको उपविजेताले तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी टिमलाई आठ समुहमा विभाजन गरिएको छ । नकआउटका आधारमा खेलाइने खेलको प्रत्येक समूहको शिर्ष दुई टिम दोस्रो चरणका लागि छनोट हुनेछन् ।
समुह ए, बी, सी र डीमा समान १३ टिम तथा अन्य चार समुहमा समान १२ टिम रहनेछन् ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले २५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । विधागततर्फ उत्केष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र बेस्ट फरवार्डले जनही १० हजार नगद र ट्रफी हात पार्नेछन् । त्यस्तै उत्कृष्ट प्रशिक्षकले भने नगद १५ हजार र ट्रफी हात पार्नेछन् ।

अनाथ बालबालिकाको शिक्षाका साथै बृत्ति विकासमा सहयोग पुराउने उद्देश्यका साथ सुरु गरिएको प्रतियोगितामा सहभागी सरकारी विद्यालयलाई ५ हजार र निजी विद्यालयका लागि १० हजार दर्ता शुल्क राखिएको आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको अनुमानित लागत ९० लाख रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...