एन्फा र थ्री स्टार क्लबबीच सहमति

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) र थ्री स्टार क्लब बीच क्षतिपूर्तिका विषयमा सहमति बनेको छ । साथै क्षतिपूर्ति रकम र अन्य कुराहरु प्रक्रिया पुरा गरेरमात्र सार्वजनिक गर्नेमा समेत दुवै पक्ष राजी भएका छन् ।

निकट स्रोतका अनुसार दुवै पक्षबीच पहिला छलफल भएकै रकम वरिपरि सहमति बनेको छ । साथै एन्फाले थ्री स्टारलाई २ देखि ३ वटा अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि पनि व्यवस्था गर्नेछ ।’

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले क्षतिपूर्तिका विषयमा सहमति बनेको र केही प्रक्रिया पुरा गरेर अघि बढ्ने बताएका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी)ले एएफसी कपमा थ्री स्टारको सहभागिताका लागि पटक–पटक सम्म पत्र पठाएको थियो । तर, एन्फाले कुनै जानकारी नदिएपछि थ्री स्टार एएफसी कप खेल्नबाट बञ्चित भएको थियो ।

एएफसी कपमा सहभागिता जनाउन नपाएपछि थ्रीस्टार क्लबले ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै खेलकुदका सम्बन्धित सबै निकायमा उजुरी दर्ता गराएको थियो । क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना कुनै पनि प्रतियोगितामा भाग नलिने भन्दै थ्री स्टारले घरेलु फुटबल प्रतियोगिताहरु पनि बहिष्कार गर्दै आएको छ ।

एन्फा र थी्रस्टार क्लबबीच सहमति बनेसँगै अब केही महिना भित्रै शुरु हुने राष्ट्रिय लिग सञ्चालन गर्न पनि सहज हुने धेरैको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस

Loading...