एन्फा र थ्री स्टार क्लब सहमति नजिक पुग्दै

काठमाडौं (खेलदैनिक) । रुस्लान थ्री स्टार क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) विवादित विषयको सहमति नजिक पुगेका छन् । १ करोड देखि डेढ करोड रुपैयाँ सम्ममा सहमति बन्ने सम्भावना रहेको साथै दुई वा त्यो भन्दा बढी किस्तामा भूक्तानी दिने गरि दुवै पक्षबीच सहमति बन्ने सम्भावना देखिएको हो ।

थ्रीस्थारले एन्फाको गल्तीका कारण गतवर्ष पहिलो चरण छनोट भएर पनि एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै विभिन्न खेलकुद निकायमा उजुरी दर्ता गराएको थियो । क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना कुनै पनि प्रतियोगितामा भाग नलिने भन्दै थ्री स्टारले बहिष्कार गर्दै आएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी कपमा थ्री स्टारको सहभागिताका लागि चार पटक सम्म पत्र पठाएको थियो । तर, एन्फाले कुनै जानकारी नदिएपछि थ्री स्टार एएफसी कप खेल्नबाट बञ्चित भएको थियो ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले क्षतिपूर्ति दिने विषयमा एन्फा सकारात्मक भएपनि क्लबले माग गरे जति रकम दिन नसक्ने बताएका थिए । क्लबका पूर्व अध्यक्ष सानुलाल श्रेष्ठको मध्यस्थतामा एन्फा र क्लब सहमतिको नजिक पुगेको बताइएको छ ।

थ्री स्टार पनि कम रकम क्षतिपूर्ति लिएर पनि फुटबलमा फर्कन इच्छुक देखिएको छ भने एन्फा पनि थ्री स्टारसँगको समस्याको समाधान छिटो निकाल्न सहमतिको लागि लचक भएको बुझिएको छ ।

विवादकै करण थ्रीस्टार क्लबले हालै सम्पन्न दोस्रो ललित स्मृति यु–१८ च्याम्पियनसिपमा पनि सहभागिता जनाएको थिएन । क्लब र एन्फाबीच सहमति भए छिट्टै शुरु हुने तयारीमा रहेको राष्ट्रिय लिग सञ्चालन गर्न पनि सहज हुने धेरैको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस

Loading...