नेपाली यु–२३ टोलीको बन्द प्रशिक्षण शुरु

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिपकालागि नेपाली फुटबल टोलीले शुक्रबारदेखि एन्फा कोम्प्लेक्स, सातदोबाटोमा अभ्यास शुरु गरेको छ ।

अभ्यासको पहिलो दिन मात्र १३ जना खेलाडीहरु सहभागी रहेको एन्फाले जनाएको छ । बन्द प्रशिक्षणमा ४० खेलाडीहरुलाई बोलाइए तापनि १३ खेलाडीहरु मात्र पहिलो दिन अभ्यासमा सामेल भएका थिए । प्रारम्भिक टोलीका ४० खेलाडी  मध्ये  ११ जना राष्ट्रिय फुटबल टिमका सदस्यहरु छन् ।

शुक्रबार प्रशिक्षणमा सहभागी नभएका बाँकी खेलाडीहरु आइतबारबाट सहभागी हुने एन्फाले जनाएको छ ।
त्यस्तै मुख्य प्रशिक्षकमा एन्फाले पहिले नै मेघराज केसीले प्रशिक्षकीय जिम्मेवारी दिइसकेको छ ।

यद्यपी केसी अहिले अन्य चार प्रशिक्षकसहित जापानमा ७ दिने कोचिङ कोर्षमा सहभागी छन् । प्रशिक्षक केसी नफर्कदासम्म टोलीलाई अर्का प्रशिक्षक राजुकाजी शाक्यले प्रशिक्षण दिने समेत एन्फाले जनाएको छ ।

प्रकाश अर्याल टोलीका सहायक प्रशिक्षक  रहेका छन् भने टोली प्रबन्धक एन्फा उप महासचिव सन्जिब मिश्र रहेका छन् ।

जुलाई १५ देखि युएईमा हुन गईरहेको छनौट चरण अन्तर्गत  नेपाल आयोजक युएईसँगै लेबनान र उज्बेकिस्तान रहेको समूह डी मा परेको छ ।

नेपालले युएईसँग जुलाई १५ मा, उज्बेकिस्तानसँग जुलाई १७ र लेबनोनसँग जुलाई १९ मा खेल्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...