यमनविरुद्ध नेपालको उत्कृष्ट बराबरी

मंगलबार यमनविरुद्ध खेलेको नेपाली राष्ट्रिय फुटबल टिम । (तस्विर– गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । एफसी एसियन कप छनोटमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको छ । विगतका खेलभन्दा केही उत्कृष्ट प्रदर्शन गरेको नेपालले आफूभन्दा माथिल्लो वरियताको यमनलाई बराबरीमा रोक्दै अंक बाँडेको हो ।

सशस्त्र प्रहरीको हलचौक मैदानमा भएको खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेल फालेका थिए । खेलको ५८ औं मिनेटमा नवयुग श्रेष्ठले पाएको सुन्दर गोलको अवसर उनको फितलो प्रहारसँगै खेर फालेका थिए । त्यसैगरी खेलको ६४ औं मिनेटमा अन्जन विष्टले प्रहार गरेको सुन्दर भली प्रहारलाई यमनका कप्तान तथा गोलरक्षक मोहम्मद इब्राहिमले मुश्किलले रोको थिए ।

त्यस्तै रोहित चन्दका केही कडा प्रहारलाई पनि विपक्षी गोलरक्षक इब्राहिमले रोकेका थिए ।
उता यमनका खेलाडीहरुले पनि पाएको केही डरलाग्दो प्रहार नेपालका गोलरक्षक किरण लिम्बुले निस्तेज तुल्याएका थिए । खेलकाके ८६ औं मिनेटमा यमनका तौफिक अलिको प्रहार किरणले जोगाएका थिए ।

मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका गोलरक्षक किरण कुमार लिम्बु म्यान अफ दि म्याच घोषित भए ।
खेलमा यमनका अब्दुलवासी अल–मतारीले पहेंलो कार्डको सामना गरेका थिए । पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको नेपालले अर्को खेल ताजकिस्तानसँग खेल्नेछ ।

मंगलबारको खेलपछि समूह एफमा रहेको नेपाल एकसहित तेस्रो स्थानमा छ । यमनसँग ४ अंकसहित शीर्ष स्थानमा उक्लिँदा फिलिपिन्स ३ अंकसहित दोस्रोमा छ भने अंकविहीन ताजकिस्तान पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...