उपाधिका लागि संकटा र आर्मी भिड्ने

काठमाडौं । दोस्रो ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिता अन्तरगत विभागीय टोली नेपाल आर्मी क्लब र संकटा क्लब फाइनलमा भिड्ने भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेल अन्तरगत संकटाले फ्रेण्डस क्लबको चुनौति पेनाल्टी शुटआउटमा ४–२ ले समाप्त पार्दै फाइनल प्रवेश गर्न सफल रह्यो । यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुँगिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनुपरेको थियो ।

निर्धारित समयको खेलमा खेलको ४२ औं संकटाका लागि रञ्जित गुरुङले शुरुवाती गोल गरेका थिए भने खेलको ४८ औं मिनेटमा फ्रेण्डस्का लागि सुमित चौहान मगरले बराबरी गोल फर्काएका थिए ।

त्यसैगरी शनिबार नै सम्पन्न दोस्रो खेलमा नेपाल आर्मीले अर्को विभागीय टोली नेपाल पुलिसलाई शून्यकाविरुद्ध ४ गोलले पराजित गर्दै फाइनल यात्रा तय गर्न सफल भयो ।

आर्मीको एकतर्फी जितमा दिनेश योञ्जनले खेलको १६, ४४ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने थप एक गोल खेलको ८८ औं मिनेटमा प्रिजेन तामाङले गरे ।

अब उपाधिका लागि नेपाल आर्मीले जेठ २९ गते सोमबार संकटा क्लबको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...