एन्फाका केन्द्रिय अध्यक्ष श्रेष्ठद्वारा एन्फा एकेडेमी बुटवलको अवलोकन

सुरज राना मगर, बुटवल, खेलदैनिक

अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले बुटवल, देवीनगरस्थित एन्फा एकेडेमी बुटवलको अवलोकन गर्नुभएको छ ।

पाल्पामा हालै सम्पन्न राष्ट्रिय महिला लिगको फाइनलमा आतिथ्यता ग्रहण गरेर फर्कने क्रममा मिति २०७४ जेठ २७ गते शनिबार केही पदाधिकारीहरुसँगै आउनु भएको अध्यक्ष श्रेष्ठले बुटवलस्थित एन्फा एकेडेमीको अवलोकन, निरीक्षणसँगै रुपन्देही जिल्ला फुटबल संघ पदाधिकारीसँग भेटघाट एवं संक्षिप्त कुराकानी समेत गर्नुभएको थियो ।

कुराकानीका क्रममा अध्यक्ष श्रेष्ठले विगतका सबै तिक्ततालाई बिर्सेर एक अर्काबीच समझदारी र सहकार्य गर्दै फुटबलको विकासमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । फुटबल विकासमा आफूहरु हरतरहले लागिपरेको बताउँदै केन्द्र र जिल्लाबीच विगतमा जे जस्तो भए पनि अब सबै मिलेर काम गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

त्यसैगरी रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार)ले पनि जिल्लाको फुटबल विकासमा आफूहरु एकचित्त भएर लागेकाले यसमा केन्द्रले पनि सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो ।

सो अवसरमा रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष खेमराज गुरुङ, सचिव शंकर मल्लाह, एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धि गुरुङ, प्रशिक्षक पुकार गहतराज लगायतका पदाधिकारीहरुको उपस्थिती समेत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...