पूर्वाञ्चल भेट्रान बन्यो च्यामिपयन

बिर्तामोड, जेठ २२ । पूर्वाञ्चल भेट्रान एफसी बिर्तामोडमा आयोजित प्रथम बिर्तामोड भेट्रान इन्डो–नेपाल फुटबल टुर्नामेन्टको च्याम्पियन बनेको छ ।डोमालाल रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा काँकरभिट्टा भेट्रान एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै पूर्वाञ्चल भेट्रान च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा पूर्वाञ्चल भेट्रानका लागि लक्ष्मी सुब्बा (लोचन)ले खेलको अन्तिम ५ मिनेटमा गोल गरेका थिए ।

लोचन प्रतियोगिता अवधिभरकै उत्कृष्ट खेलाडी घोषित हुँदै मोबाइल उपहार पाए । उनलाई पूर्वेली युवा परिवारका अध्यक्ष मनोजजंग बुढाथोकीले मोबाइल पुरस्कार प्रदान गरे । त्यस्तै, खेलको म्यान अफ दी म्याच पूर्वाञ्चलकै प्रेम घिमिरे घोषित भए । उनलाई युवा व्यवसायी दिपेन्द्र राउत र अञ्जनी संग्रौलाले पुरस्कार प्रदान गरे ।

सर्वाधिक गोलकर्ताको उपाधि काँकरभिट्टा भेट्रानका लाक्पा लामा घोषित भए । उनलाई नगद बिर्तामोडका व्यवसायी वीरु दर्नालले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

तीन भारतीय टिमसहित १३ वटा भेट्रान क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पायो । विजेता टिमलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ, आयोजक बिर्तामोड भेट्रान एफसीका अध्यक्ष किरण थापामगर लगायतले नगद, ट्रफी र मेडल प्रदान गरे ।

उपविजेता काँकरभिट्टाले नगद ३३ हजार ३३३ सहित ट्रफी पायो । उसलाई फुटबल प्रशिक्षक तथा झापा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष भगिरथ आले मामा, युवा व्यवसायी प्रशान्त भण्डारी लगायतले ट्रफी, नगद र मेडल प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...