एन्फा महिला लिग फुटवल : रौतहट, मोरङ, काठमाडौं र ताप्लेजुङ सेमिफाइनलमा

स्याङजा, जेठ २२ – स्याङ्जा र पाल्पामा चलिरहेको एन्फा महिला लिग च्याम्पियनसिप फुटवल प्रतियोगिता अन्तर्गत वालिङमा भएको खेलबाट रौतहट र मोरङ तथा पाल्पालमा भएको खेलबाट काठमाडौं र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको पहिलो क्वाटर फाइनलमा रौतहटले सर्लाहीलाई २–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । रौतहटका लागि रश्मी कुमारी घिसिङले दुई गोल गरेकी हुन् । उनले ५६ औं र ६२ औं मिनेटमा गोल गरिन् ।

सोमबार नै भएको दोश्रो क्वाटर फाइनलमा मोरङले नवलपरासीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । मोरङकी सरु लिम्वुले ४ गोल गरेकी हुन् । नवलपरासीको लागि भने हिना रानाले पेनाल्टी मार्फत एक गोल गरेकी हुन् ।

क्वाटरफाइनल तर्फको पाल्पामा भएको पहिलो खेलमा काठमाडौं महिला फुटबल टिमले झापा महिला फुटबल टिमलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौंका लागि मुना तामाङ्गले ५६ र प्रिति राईले ६६ औं मिनेटमा गोल गरेका थिए ।

दोश्रो खेलमा ताप्लेजुङ महिला फुटबल टिमले कैलाली महिला फुटबल टिमलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ्गका लागि अनुष्का शेर्पाले ४८ औं मिनेटमा निर्णायक गोल गरेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...