अन्तर नगर कप फुटबल मंगलबारदेखि

प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिता – २०७४ मंगलबारदेखि दशरथ रङ्गशालमा आयोजना हुने भएको छ ।

काठमाण्डौका नगरपालिका भित्र रहेका प्रतिभावान खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा काठमाण्डौ महानगरपालिका बाहेकका १० नगरपालिकाको सहभागिता रहने आईतबार पत्रकार सम्मेलनमा जानकारी गराईयो । यसका साथै नगरपालिकाविच अपसी सद्भाव तथा एकता कायम गर्दै काठमाण्डौको समग्र खेलकुदको विकास गर्ने अभियानको रुपमा समेत यस प्रतियोगितालाई लिईएको आयोजकले जनाएका छन् ।

नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव श्री दिनेश थपलियाको प्रमुख आतिथ्यतामा हुने प्रतियोगिताको उद्घाटन सचिव थपलियाको कप्तानीमा काठमाण्डौ जिल्ला समन्वय समिति, जिल्ला खेलकुद विकास समिति तथा सरकारी कार्यालय प्रमुखको टोली र काठमाण्डौ मेयर तथा राजनैतिक दलका टिम विच २३ गते विहान ८ बजे मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्दै गरिने छ ।

काठमाण्डौ जिल्ला समन्वय समितिको आयोजना, १० नगरपालिकाको सहआयोजना तथा काठमाण्डौ जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११, दोश्रो हुने टिमलाई ५१ हजार १ सय ५१ र तेश्रो हुने टिमलाई २५ हजार १ सय ५१ का साथै मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिने छ ।

नकआउटका आधारमा खेलाईने प्रतियोगिताको अनुशासित टिमलाई प्रमाण पत्र र ट्रफी, सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिने छ भने प्रतियोगिताका उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार सहित ट्रफी प्रदान गरिने तथा सहभागी सम्पूर्ण टिमहरुलाई प्रशंसा पत्र तथा प्रमाण पत्र प्रदान गरिने काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी गराए ।

कुल लागत १८ लाख रहेको प्रतियोगितामा काठमाण्डौ जिल्ला समन्वय समितिले ८ लाख र सहभागी प्रत्येक नगरपालिकाले १ लाख गरि १० लाख रकम जुटाउने तथा प्रतियोगिताको उद्घाटनका दौरान भर्खरै स्थनिय निर्वाचन मार्फत निर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान गरिने आयोजक काठमाण्डौ जिल्ला समन्वय समितिका स्थानिय विकास अधिकारी गोपाल कुमार अधिकारीले जानकारी गराए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरु नगरपालिकाले प्रत्येक नगरपालिका भित्र रहेको खेलाडीहरुलाई मात्र छनोट गरि प्रतियोगितामा सहभागी गराउन पाईने तथा बुढानिलकण्ठ नगरपालिकाले त्यसका लागि आफ्ना वडाहरुको प्रतिस्पर्धा गराई त्यसबाट उत्कृष्ट खेलाडीलाई छनोट गरेको काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष एवं कार्यक्रम व्यवस्थापन तथा तयारी संयोजक दामोदर भट्टराईले जानकारी गराए । उनले प्रतियोगिताको समापन समारोहका दौरान पूर्वाञ्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा काठमाण्डौबाट सहभागी भई पदक हासिल गर्न सफल खेलाडीहरुलाई नगद तथा प्रमाण पत्रले सम्मान गर्ने समेत बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...