सौभाग्य, क्रिश्चियन, सुनौलो र डिएमसी सेमिफाइनलमा

सुरज राना मगर, रुपन्देही, खेलदैनिक रुपन्देहीमा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत सौभाग्य युवा क्लब, क्रिश्चियन युवा क्लब, सुनौलो संगम युवा क्लब र डिएमसी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।जेठ १७ गते बुधबार बेलबासस्थित जवई मैदानमा सम्पन्न दुई क्वाटरफाइनल खेल अन्तरगत पहिलो क्वाटरफाइनलमा सौभाग्य युवा क्लबले इन्टर स्पोर्टस् क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको छ । यसअघि निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिनुपरेको थियो । जसमा सौभाग्यले निर्णय आफ्नो पक्षमा पार्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो । सोही मैदानमा सम्पन्न अर्को क्वाटरफाइनल खेलमा क्रिश्चियन युवा क्लबले गोर्खा ब्वायज क्लबलाई शून्यकाविरुद्ध २ गोलले निराश पार्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।

त्यसैगरी उमा निमावि कुञ्जलापुरस्थित मैदानमा सम्पन्न तेस्रो क्वाटरफाइनलमा सुनौलो संगम युवा क्लबले अमरज्योति युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । त्यस्तै सोही मैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा डिएमसी क्लबले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारलाई सडेन डेथमा ११–१० गोलअन्तरले पराजित गरेको छ । नियमित समयको खेलमा दुवैतर्फबाट समान १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनुपरेको थियो, जसमा डिएमसीले निर्णय आफ्नो पक्षमा पार्न सफल भयो र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रतियोगिता अन्तरगत जेठ १८ गते बिहीबार पहिलो सेमिफाइनल खेलमा कुञ्जलापुरस्थित उमा निमाविको  खेल मैदानमा सुनौलो संगम युवा क्लबले डिएमसी क्लबको सामना गर्नेछ भने दोस्रो सेमिफाइनल अन्तरगत बेलबासस्थित जवई मैदानमा क्रिश्चियन युवा क्लबले सौभाग्य युवा क्लबको सामना गर्ने खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ २० गते हुनेछ । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...