चन्द्रगढी र सुरुङ्गा विजयी

रमेश समदर्शी बिर्तामोड, जेठ १६ । डोमालाल रङ्गशालामा आयोजित प्रथम बिर्तामोड भेट्रान इन्डो–नेपाल फुटबल टुर्नामेन्टको मंगलबारको खेलमा चन्द्रगढीको सीबीसी र सुरुङ्गा भेट्रान क्लब विजयी भएका छन् ।पहिलो खेलमा चन्द्रगढीले धरमपुर भेट्रानलाई सडन डेथमा ७–६ गोलले पराजित गरेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा टुंगिएपछि निर्णय लिन टाइब्रेकर रोजिएको थियो । तर, टइब्रेकर पनि बराबरीमा टुंगिएपछि खेल सडन डेथमा पुगेको हो ।

निर्धारित खेलमा चन्द्रगढीका बलबहादुर गुरुङ र उत्तमकुमार तथा धरमपुरका प्रेम शेर्माले दुई गोल गरेका थिए । प्रेम शेर्मा म्यान अफ दी म्याच घोषित भए । उनलाई शिखर बजारका दीपेन्द्र राउतले नगद तथा ट्रफी प्रदान गरे ।

दोस्रो खेलमा सुरुङ्गा टाइब्रेकरबाट विजयी भयो । विपक्षी आयोजक बिर्तामोडलाई ३–२ गोलमा सुरुङ्गाले पराजित गरेको हो । निर्धारित खेल गोलरहित टुंगिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । खेलको म्यान अफ दी म्याच दर्शन भक्तराज घोषित भए । उनलाई पूर्वेली युवा परिवारका अध्यक्ष मनोज बुढाथोकीले पुरस्कार प्रदान गरे ।

बुधबारको पहिलो खेल पूर्वाञ्चल भेट्रानविरुद्ध भारतको सिलिगुडी भेट्रान र दोस्रो खेल राजघाट भेट्रानविरुद्ध भारतको कालिम्पोङ भेट्रानबीच खेल हुने आयोजकका कोषाध्यक्ष प्रकाश लिङ्देनले जानकारी दिए । प्रतियोतिाको विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेता टिमले ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...