सौभाग्य, क्रिश्चियन र सुनौलो संगम क्वाटरफाइनलमा

सुरज राना मगर, रुपन्देही, खेलदैनिक

रुपन्देहीमा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शौभाग्य युवा क्लब, क्रिश्चियन युवा क्लब र सुनौलो संगम युवा क्लब क्वाटरफाइनल प्रवेश गरेका छन् ।

बेलबासस्थित जवई मैदानमा सम्पन्न समूह डी अन्तर्गतको पहिलो खेलमा सौभाग्यले सिम्रिक युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्‍यो भने सोही समूहको दोस्रो खेलमा क्रिश्चियनले सयपत्री युवा क्लबको चुनौति १–० ले समाप्त पर्‍यो। सौभाग्य र क्रिश्चियन दुवैले समूह डीबाट नकआउट चरणको यात्रा तय गरेका छन् ।

त्यसैगरी उमा निमावि कुञ्जलापुरस्थित मैदानमा शनिबार सम्पन्न समूह ए अन्तर्गतको पहिलो खेलमा सुनौलो संगम युवा क्लबले फर्साटिकर युवा क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणको यात्रा पक्का गरेको छ भने दोस्रो खेलमा लिग चरणबाटै बाहिरिएको झरना स्पोर्टस् क्लबले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

प्रतियोगिता अन्तर्गत जेठ १५ गते सोमबार कुञ्जलापुरस्थित उमा निमाविको खेल मैदानमा समूह बी अन्तर्गत डिएमसी युवा क्लबले सिद्धार्थ युवा क्लबको सामना गर्नेछ भने माछापुच्छरे युवा क्लबले कालिका स्पोर्टस् क्लबको सामना गर्नेछ । त्यस्तै बेलबासस्थित जवई मैदानमा समूह सी अन्तर्गत पहिलो खेलमा भूपू सैनिक जवई स्र्पोटिङ क्लबले बुटवल युनाइटेडको सामना गर्नेछ भने इन्टर स्पोर्टस् क्लबले चाँदनी युवा क्लबको सामना गर्ने खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ २० गते हुनेछ । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...