अमरज्योती, गोर्खा ब्वायज र इन्टर स्पोर्टस् विजयी

(सुरज मगर ) रुपन्देही । रुपन्देहीमा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत शनिबार अमरज्योति युवा क्लब, गोर्खा ब्वायज क्लब र इन्टर स्पोर्टस् क्लबले जित हात पारेका छन् ।  उमा निमावि कुञ्जलापुरस्थित मैदानमा शनिबार सम्पन्न समूह बी अन्तरगतको पहिलो खेलमा सिद्धार्थ युवा क्लब र माछामुच्छ«े युवा क्लबले १–१ गोलको बराबरी खेले भने सोही मैदानमा सम्पन्न दोस्रो खेलमा अमरज्योति युवा क्लबले कालिका स्पोर्टस् क्लबलाई १ का विरुद्ध ४ गोलले पराजित गरेको छ ।

त्यसैगरी बेलबासस्थित जवई मैदानमा सम्पन्न समूह सी अन्तरगतको पहिलो खेलमा इन्टर स्पोर्टस् क्लबले भूपू सैनिक जवई स्र्पोटिङ क्लबलाई तथा गोर्खा ब्वायज क्लबले चाँदनी युवा क्लबलाई समान १–० गोल अन्तरले पराजित गरेको छ ।

प्रतियोगिता अन्तरगत जेठ १४ गते आइतबार कुञ्जलापुरस्थित उमा निमाविको  खेल मैदानमा समूह ए अन्तरगत सुनौलो संगम युवा क्लबले फर्साटिकर युवा क्लबको सामना गर्नेछ भने झरना स्पोर्टस् क्लबले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारको सामना गर्नेछ । त्यस्तै बेलबासस्थित जवई मैदानमा समूह डी अन्तरगत पहिलो खेलमा सिम्रिक युवा क्लबले सौभाग्य युवा क्लबसँग भिड्नेछ भने क्रिश्चियन युवा क्लबले सयपत्री युवा क्लबको सामना गर्ने खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ २० गते हुनेछ । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...