रुपन्देही जिल्ला लिगका खेलहरु जारी

रुपन्देहीमा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत उमा निमावि कुञ्जलापुरस्थित मैदानमा शुक्रबार सम्पन्न समूह ए अन्तरगतको पहिलो खेलमा लिस्नु युवा क्लबले झरना स्पोर्टस क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । त्यस्तै सोही मैदानमा सम्पन्न दोस्रो खेलमा पनि नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार र सुनौलो संगम युवा क्लबबीचको खेल पनि १–१ गोलको बराबरीमा टुँगिएको छ ।

त्यसैगरी बेलबासस्थित जवई मैदानमा सम्पन्न समूह डी अन्तरगतको पहिलो खेलमा क्रिश्चियन युवा क्लबले सौभाग्य युवा क्लबलाई शुन्यकाविरुद्ध १ गोलले पराजित गर्दै क्वाटरफाइनल नजिक पुगेको छ । सोही मैदानमा सम्पन्न समूह डी कै अर्को खेलमा सिम्रिक युवा क्लब र लुम्बिनी स्पोर्टस् क्लबले गोलरहित बराबरी खेलेका छन् ।

प्रतियोगिता अन्तरगत जेठ १३ गते शनिबार कुञ्जलापुरस्थित उमा निमाविको  खेल मैदानमा समूह बी अन्तरगत माछापुच्छे« युवा क्लबले सिद्धार्थ युवा क्लबको सामना गर्नेछ भने अमरज्योति युवा क्लबले कालिका स्पोर्टस् क्लबको सामना गर्नेछ । त्यस्तै बेलबासस्थित जवई मैदानमा समूह सी अन्तरगत पहिलो खेलमा इन्टर स्पोर्टस् क्लबले भूपू सैनिक जवई स्र्पोटिङ क्लबसँग भिड्नेछ भने दोस्रो खेलमा गोर्खा ब्वायज क्लबले चाँदनी युवा क्लबको सामना गर्ने खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ २० गते हुनेछ । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...