जिल्ला लिगमा इन्टर स्पोर्टस्, चाँदनी र सिद्धार्थको जित

(सुरज मगर ) रुपन्देहीमा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत इन्टर स्पोर्टस् क्लब, चाँदनी युवा क्लब र सिद्धार्थ युवा क्लबले जित हात पारेका छन् । बेलबासस्थित जवई मैदानमा सम्पन्न समूह सी अन्तरगतको पहिलो खेलमा इन्टर स्पोर्टस् क्लबले गोर्खा ब्वायज क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ भने सोही मैदानमा सम्पन्न दोस्रो खेलमा चाँदनी युवा क्लबले बुटवल युनाइटेडलाई ४–० ले निराश तुल्यायो ।

त्यसैगरी उमा निमावि कुञ्जलापुरस्थित मैदानमा सम्पन्न समूह बी अन्तरगतको पहिलो खेलमा सिद्धार्थ युवा क्लबले कालिका स्पोर्टस् क्लबलाई १३–० गोलको भारी अन्तरले पराजित गरेको छ भने समूह बी कै दोस्रो खेलमा अमरज्योति युवा क्लब र डि.एम.सी. युवा क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतियोगिता अन्तरगत जेठ १२ गते शुक्रबार कुञ्जलापुरस्थित उमा निमाविको  खेल मैदानमा समूह ए अन्तरगत झरना स्पोर्टस् क्लबले लिस्नु युवा क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा सुनौलो संगम युवा क्लबले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारको सामना गर्नेछ । त्यस्तै बेलबासस्थित जवई मैदानमा समूह डी अन्तरगत पहिलो खेलमा क्रिश्चियन युथ क्लबले सौभाग्य युवा क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा सिम्रिक युवा क्लबले लुम्बिनी स्पोर्टस् क्लबको सामना गर्ने खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ २० गते हुनेछ । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...