गोर्खा ब्वायजको विजयी यात्रा जारी

रुपन्देहीमा जारी जिल्ला लिग फुटबल अन्तरगत बुधबार बिहान सम्पन्न खेलमा गोर्खा ब्वायज क्लबले आफ्नो जितको क्रमलाई निरन्तरता दिएको छ । मंगलबार हुने भनिएको खेल वर्षाका कारण स्थगित भएपछि बुधबार बिहान बेलबासस्थित जवई मैदानमा सम्पन्न समूह सी अन्तरगतको खेलमा गोर्खा ब्वायजले बुटवल युनाइटेडलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ भने सोही मैदानमा सम्पन्न दोस्रो खेलमा चाँदनी युवा क्लब र भूपू सैनिक जवई स्र्पोटिङ्ग क्लबले १–१ गोलको बराबरी खेलेका थिए।

प्रतियोगिता अन्तरगत जेठ १० गते बुधबार कुञ्जलापुरस्थित उमा निमाविको  खेल मैदानमा समूह ए अन्तरगत पहिलो खेलमा फर्साटिकर युवा क्लबले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारको सामना गर्नेछ भने दोस्रो खेलमा सुनौलो संगम युवा क्लबले लिस्नु युवा क्लबको सामना गर्नेछ । त्यस्तै बेलबासस्थित जवई मैदानमा समूह डी अन्तरगतको पहिलो खेलमा सौभाग्य युवा क्लबले लुम्बिनी स्पोर्टसु क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा सयपत्री युवा क्लबले सिम्रिक युवा क्लबको सामना गर्ने खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ २० गते हुनेछ । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...