रुपन्देही जिल्ला लिग जेठ ६ गतेदेखि

सुरज राना मगर, रुपन्देही जिल्ला लिग यहि मिति २०७४ जेठ ६ गते शनिबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहनेछ । सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगिताका संयोजक तथा रुपन्देही जिल्ला फुटबल संघ उपाध्यक्ष हरि क्षेत्रीले बताउनुभयो । त्यस्तै प्रतियोगिताको फाइनल खेल जेठ २० गते शनिबार हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा शुरु हुन लागेको जिल्लाकै लोकप्रिय फुटबल प्रतियोगिता मध्ये एक जिल्ला लिग फुटबल प्रतियोगिता यसपटक पनि दुई स्थानमा खेलाईने छ । जसमध्ये एउटा कुञ्जलापुरस्थित उमा नि.मा.वि. को खेल मैदान रहेको छ भने अर्को बेलबासस्थित जवई खेल मैदान रहेको छ ।

प्रतियोगिताको उदघाटन खेल कुञ्जलापुरस्थित उमा नि.मा.वि. को खेलमैदानमा हुनेछ भने फाइनल खेल बेलबासस्थित जवई खेल खेल मैदानमा हुने कुराको जानकारी समेत संयोजक हरि क्षेत्रीले दिनुभयो । प्रतियोगिताको उदघाटन खेल कुञ्जलापुरस्थित उमा नि.मा.वि. को खेल मैदानमा समूह ए अन्तरगत झरना स्पोर्टस् क्लब र फर्साटिकर युवा क्लबबीच हुने संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार हात पार्ने छन् भने उपविजेताले ५५ हजार नगद र ट्रफी हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई १०–१० हजार प्रदान गरिने साथै अन्य व्यक्तिगत पुरस्कारहरुको समेत व्यवस्था गरिएको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी ‘कुमार’ले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...